• १५ वैशाख २०८१, शनिबार

चम्पादेवीमा काँग्रेसका केसी र उपाध्यक्षमा एमालेकी मगर विजयी

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ २ गते । चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनः निर्वाचित हुनुभएको छ । यसअघि पनि २०७४ मा उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

निकटम प्रतिद्वन्दी नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  

केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गर्नुभएको छ ।  

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया मगरले जित्नुभएको छ । काँग्रेसकी कुसा मगरलाई २३७ मतले पछि पार्दै एमालेकी दिलामाया मगर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । नेपाली काँग्रेसकी कुसा मगरले ४४७८ र एमालेकी दिलामाया मगरले ४७१५ मत प्राप्त गर्नुभएको छ ।  

पालिकाको १० वडा मध्ये सात वडामा नेपाली काँग्रेसले जितेको छ । बाँकी रहेको तीन मध्ये दुई वडा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको हो । वडा नं. १ कुलबहादुर श्रेष्ठ, २ मा विष्णु पुलामी मगर, ४ मा ईन्द्र केसी, ५ मा मोहन तामाङ, ८ मा खड्गबहादुर बराल, ९ मा सुजन पौडेल र वडा नं.१० मा रोहितप्रसाद ढुङ्गेलले नेपाली काँग्रेसबाट वडा अध्यक्ष जित्नुभएको छ । 

यसैगरी, वडा नं. ३ मा धनबहादुर श्रेष्ठ र ७ मा सुरेश थापाले नेकपा एमाले बाट वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं. ६ माओवादी केन्द्रका गणेश खत्रीले चुनाव जित्नुभएको छ । 

एक नगरपालिका सहित बाँकी रहेका चार गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको मोलुङ, खिजिदेम्बा, लिखु गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । 

सुनकोशी गाउँपालिकाको मत गणना कार्य ढिलो भइरहेको छ । उक्त पालिकाको दश वडा मध्ये अहिलेसम्म चार वडाको मात्र मतगणना कार्य सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।