• १२ कात्तिक २०८१, सोमबार

विरोध गर्ने संस्कृतिले मुलुकलाई निकास दिंदैन : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ९ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिले समग्र समाजलाई दिशानिर्देश गर्ने गरेकाले जिम्मेवार भएर देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ । 

अखिल नेपाल महिला संघ जिल्ला कमिटी काठमाडौंद्वारा शुक्रबार आयोजित नारी सङ्कल्प विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । कुनै एउटा विधामा चर्चामा आउने बित्तिकै राजनीतिमा सफल होइन्छ भन्ने मान्यता काठमाडौंको निर्वाचनले स्थापित गर्न खोजेको पोखरेलले बताउनुभयो । 

विरोध गर्ने संस्कृतिले समाजलाई भाँड्ने तर राजनीतिक निकास नदिने उहाँले प्रष्ट पार्नुभयो । यसले समाजलाई पछि धकेल्ने र राजनीतिको दिशा गलत बाटो तर्फ जाने पोखरेलको भनाइ छ । ‘राजनीति समग्र समाजलाई दिशा निर्देश गर्ने केन्द्रिय प्रश्न हो’ उहाँले भन्नुभयो । 

एउटा लोकप्रियताको भरमा व्यक्तिले राजनीति सुधार गर्दछ भन्ने मान्यता एक किसिमको कल्पना मात्र भएको पोखरेलले दाबी गर्नुभयो । राजनीतिको सुधार संस्थागत संगठनले मात्र गर्न सक्ने पोखरेलले बताउनुभयो । 

काठमाडौंमा हुने उपनिर्वाचनबाट विगतको भुललाई सच्याउनु पर्ने उहाँको धारणा छ । मुख्य नेतृत्व एमालेले गुमाउँदाको पीडा आज काठमाडौंका जनताले भोगिरहेको पोखरेलले बताउनुभयो । एमालेलाई असफल बनाउँदा नेपाललाई नै असफल बनाउन सकिन्छ भनेर केही तत्त्व एमाले विरुद्धको घेराबन्दीमा लागेको उहाँले बताउनुभयो । 

एमालेलाई विभाजन गराएपछि नेपालको राजनीति सामाजिक अराजकता, राजनीतिक अस्थिरता, सामाजिक मूल्य मान्ताको विगठन, धार्मिक अतिक्रमणको चपेटामा गुज्रिएको महासचिव पोखरेलको भनाइ छ ।