• १० कात्तिक २०८१, शनिबार

दसैँमा जोडिएको कूटनीति

blog

काठमाडौँ, कात्तिक १ गते । नेपालका लागि अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनले यस पटकको दसैँमा घटस्थापनादेखि टीकाको दिनसम्मका रमाइला पलको अनुभव बटुल्नुभयो । राजदूत थम्पसन र सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली पोसाक दौरासुरुवालमा सजिएर चङ्गा उडाउन रबाफिलो रूपमा प्रस्तुत हुनुभयो । दुई जनाले उडाएको चङ्गा चुँडाउने (चेट) को प्रतिस्पर्धा हेर्न र हौस्याउन नेपालस्थित अमेरिकी दूतावासका अन्य कर्मचारी भेला भएका थिए । 

सांस्कृतिक मामिला अधिकारी एरिका एलेक्जेन्डर अम्पायर बन्नुभयो र सिटी बजाउनुभएपछि आकासिएका दुई चङ्गा आपसमा जुध्दै जाँदा राजदूत थम्पसनको चङ्गाले माइकको चङ्गा चुँडाएर भुइँमा झारिदिँदा माहोल रोमाञ्चक बन्यो । उहाँले सामाजिक सञ्जालमा खुसी साट्दै भन्नुभएको छ, “मैले पहिलो पटक चङ्गा चेट प्रतिस्पर्धामा सहभागिता जनाएको हुँ, निकै रोमाञ्चक लाग्यो ।” साथै उहाँले दसैँ साँच्चै नै नेपालीको सुन्दर पर्व भएको औँल्याउनुभयो । 

त्यति मात्र होइन, विजयादशमीको दिन ढाकाटोपीमा सजिएर सारीचोलोमा सजिनुभएकी आफ्नी पत्नी र अन्य कर्मचारीलाई टीका र जमरा लगाइदिनुुभयो । दूतावास परिसरमा सांस्कृतिक कार्यव्रmम गर्दै नेपाली खानाको सांस्कृतिक संस्कारको अनुभव सँगाल्नुभयो । नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायतका राजदूत रोब फेनले पनि दसैँमा आफ्ना धेरै सोख पूरा गर्नुभयो । सेफ सन्तोष साहको मिथिला थालीमा पुगेर कटिया खसीको मासु र चुकौनी बनाउने नेपाली रेसिपी सिक्नुभयो । पाकेपछि झिक्ने बेलामा मुख मिठ्याउँदै भन्नुभयो, “कस्तो हेर्दै मिठो देखिएको यो मासु ।”  माटोको भाँडामा राखिएको खसीको मासुलाई तातो कोइलामा राखेर पकाइने सो मासुको परिकारले नेपालको तराईको खाना संस्कृति बोल्छ । दही र आलुको चुकौनीको स्वाद उहाँको जिब्रोमै बस्यो । अष्टमीको दिन दूतावासका सबै सवारीसाधनको पूजा उल्लासपूर्वक गरिएका थिए । 

टीकाका दिन दौरासुरुवाल र ढाकाटोपीमा सजिनुभएका राजदूत फेन र कुर्तासुरुवालमा सजिनुभएकी राजदूतपत्नीले टीकाजमरा एकअर्कालाई लगाइदिँदाको माहोल निकै प्रेममय बन्यो । टीकासँगै एकअर्कालाई समान रूपमा उहाँहरूले आशिष र दक्षिणासमेत साट्दै दुवैले नेपाली संस्कारको अभिभावको संस्कार पहिल्याउँदै दूतावासका कर्मचारीलाई टीका लगाइदिनुभयो । 

नेपालस्थित जापानको दूतावासले पनि यो वर्षको दसैँमा चङ्गा उडाएर रमाइलो गर्दै मनायो । त्यस्तै समान सांस्कृतिक मान्यता भएको छिमेकी मुलुक भारतको नेपालस्थित दूतावासले बडादसैँको अवसरमा शुभकामना आदानप्रदान गरी दसैँ मनायो । चीनका राजदूत चेन सोङले दसैँका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभयो । उहाँले विजयादशमीका दिन सामाजिक सञ्जालमा भन्नुभएको छ, “आज दसैँको महìवपूर्ण दिन हो, म आशा गर्दछु कि सबै साथीहरू टीका लगाएर खुसी हुने छन् ।”

त्यस्तै विदेशमा रहेका विभिन्न नेपाली दूतावासले पनि आफ्ना समकक्षी राष्ट्रका कूटनीतिज्ञलाई दूतावासमा बोलाएर सत्कारयुक्त दसैँ मनाएका छन् । 

कूटनीतिक क्षेत्रमा देखिएको यो नौलो परम्परा भने होइन । यसअघि पनि नेपालका विभिन्न चाडपर्व नेपालस्थित विदेशी कूटनीतिज्ञहरूले नेपाली प्रचलन अनुसार मनाउँदै आएका छन् । 

यसले नेपालका चाडपर्व कूटनीतिक सम्बन्धको मियो बन्न थालेको सङ्केत गर्छ । केही वर्षअघि र पछिका चाडपर्वको विश्लेषण गर्ने हो भने पछिल्लो समय नेपाली चाडपर्वको रौनक विदेशी कूटनीतिज्ञमाझ अत्यधिक छाउन थालेको छ । कुनै पनि मुलुकका ठुला चाडपर्वमा शुभकामना दिएर शुभभावना प्रस्तुत गर्नु विगतको चलनको निरन्तरता हो तर चाडपर्वका हरेक सांस्कृतिकपन केलाएरै घुलमिल हुनु भनेको त्योभन्दा विस्तारित कूटनीतिक संलग्नता भएको पूर्वराजदूतहरू बताउनुहुन्छ । 

शिष्टाचारयुक्त भेटवार्तामा सीमित कूटनीतिले मात्र अब पुग्दैन । पूर्वपरराष्ट्रसचिव तथा राजदूत जयराज आचार्य भन्नुहुन्छ, “मान्छेको मन छुने साना साना पाटामा सहभागिता बढाउन जरुरी रहन्छ, अचेलका पर्वमा त्यही हुन थालेको देखिन्छ ।”  उहाँका अनुसार कुनै पनि देशमा त्यहाँका रैथाने चाडपर्व हुन्छन् । ती त्यसै मनाइँदैनन् । त्यस्ता चाडपर्वको प्रकृति, इतिहास, धार्मिक तथा सांस्कृतिक बृहत्तासँगै तिनलाई आममानिसको विगत र वर्तमान जोड्ने महìवपूर्ण कडीका रूपमा लिइन्छ ।  पूर्वीय सभ्यताको अथाह सांस्कृतिक तथा धार्मिक भावलाई विदेशी संस्कृतिविद्हरूले निकै पटक अध्ययन गरिसकेका छन् । पछिल्लो समय त्यो अपनाउने र प्रकृतिको भावसँग साक्षात्कार हुन चाहने र सक्ने कूटनीतिज्ञहरूले अपनाउन र पछ्याउने व्रmम बढेको पूर्वराजदूत आचार्य बताउनुहुन्छ । 

उहाँका अनुसार विदेशी कूटनीतिज्ञले त्यसै दसैँको टीका र जमरा शिरमा लगाउँदैनन् र चङ्गा पनि उडाउँदैनन् । यसले एक विदेशी भूमिका नागरिकसँग घुलमिल हुने र आपसी सद्भाव बढाउने अवसर सिर्जना गर्छ । अर्को यसले उहाँहरूभित्र लुकेको आत्मिक भावलाई नेपाली परिवारले जस्तै साक्षात्कार गराउने अवसर दिलाउँछ । दसैँको दर्शनलाई विश्वव्यापी गर्न सके त्यसले विश्वबन्धुत्व र शान्तिप्रिय संस्कृतिलाई बढाउन सक्ने दाबी उहाँले गर्नुभयो ।