• ७ पुस २०८१, आइतबार

पिङको आनन्द

blog

दसैँमा विजयादशमीकै दिन ‘पिङ खेलेर भुइँ छोड्ने’ परम्परा ग्रामीण लोकपरिवेशको एउटा गहना हो तर नौ डाँडा थर्काउँदै चचहुई चचहुई गर्दै महोत्सवको स्वरूप दिएर पिङमा मच्चिने युवापुस्ता बिस्तारै घटे पनि परम्परा धान्नकै लागि यसलाई निरन्तरता दिने प्रचलन गाउँठाउँमा अझै छ तर गाउँका टोलपिच्छे हालिने पिङ हिजोआज भेटाउन मुस्किल छ । पिङ नै नभएपछि चुइँ चुइँ आवाज निकाल्दै मच्चाउने आवाज सुन्न छाडिएको छ । दसैँ भन्नेबित्तिकै मनमस्तिष्कमा आउने पिङ संस्कृति बिस्तारै घट्दै जाँदा यसका अनेकौँ फाइदा हराउन थालेका छन् । दशकअघिसम्म रातभर जाग्राम बसेर गीत गाउँदै पिङ खेलेको सम्झना अब बिस्तारै मेटिँदै छ । यस्ता रमाइला पल सम्झनामै सीमित बन्न थालेका छन् । घरलौरो उपस्थित भएर बाबियो सङ्कलन गर्ने, त्यसलाई बाटेर पिङ बनाउने प्रचलन लोप भइसकेको छ । घटस्थापना आएसँगै टोलभरका युवा भेला भएर पिङ हाल्ने सल्लाह गाउँघरमा हुनै छाडेको छ । 

परम्परागत बाबियोलाई लठारो बाट्ने सिप नयाँ पुस्तालाई हस्तान्तरण हुन सकेको छैन । लोकगायक मच्छेश्वर सापकोटाले भन्नुभयो, “त्यसबेला गाउँ सुन्दर थियो । पिङ हालिने परम्परा थियो । अहिले गाउँ सुनसान भएका छन् । पिङ संस्कृति नै मासिने खतरा देखिन्छ ।” उहाँले चचहुई चचहुई गर्दै पिङ मच्चाएको आवाज आउन छाडेपछि दसैँ नै नआएको जस्तो हुने बताउनुभयो । गाउँ होस् या सहर । पहाड होस् वा मधेश दसैँका बेलामा हालिने पिङले छुट्टै रौनक ल्याउने भए पनि हिजोआज पिङमा मच्चिनुपर्ने युवा सामाजिक सञ्जालमै मच्चिने गरेका छन् । पिङकै कारणले बालबालिकाको विशेष खुसीको पर्वका रूपमा दसैँ पर्छ । जब दसैँ आउँछ तब पिङ बनाउने होड सुरु हुन्छ तर गाउँमा युवाको सङ्ख्या घट्दै जाँदा पिङ संस्कृति पनि हराउन थालेको छ । त्यसको संरक्षणमा चासो दिन लोकगायक सापकोटाले स्थानीय सरकारसँग अनुरोध गर्नुभयो । 

दसैँमा पिङ खेल्नैपर्ने परम्परा ठ्याक्कै कहिले, कहाँ र कसरी सुरु भयो भन्ने लिखित प्रमाण छैन । जबदेखि दसैँ मनाइयो, पिङ खेल्न पनि उहीबेलादेखि नै सुरु गरिएको हो भनेर धेरैले लख काटेका छन् । 

वर्षमा एक पटक धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एक पटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलन चलिआएको खोजकर्ता एवं साहित्यकार तुयुकाजी ताम्राकारको बुझाइ छ । धेरै पुराना साहित्य सिर्जनामा पिङको वर्णन गरिएकाले यसको प्रयोग लामो समयदेखि भएको कुरामा कुनै पनि दुबिधा भने छैन । वर्षभरि नै खेल्न सकिने खेल पिङ आखिर किन दसैँमा नै खेल्ने गरिन्छ । दसैँ वा शरद ऋतु नै रोज्नुको प्रमुख कारण के होला भन्ने विषयमा खोज्दै जाँदा कुनै चित्तबुझ्दो कारण भने भेट्न नसकिएको ताम्राकारले बताउनुभयो । स्थानीयस्तरमा उपलब्ध स्रोतका आधारमा हिमालदेखि पहाड र तराईमा दसैँको समयमा पिङ भने हाल्ने गरिन्छ । “बुढापाकाले दसैँमा एक दिन भए पनि जमिन छोड्नु पर्छ भनेर भन्नुहुन्छ । हामीले हाम्रा सन्तानलाई त्यही कुरा सिकाएका छौँ,” ८५ वर्षीय रामप्रसाद पौडेलले भन्नुभयो । 

पिङको विश्व इतिहास हेर्दा इसापूर्व पाँचौँ शताब्दीमा ग्रिक सभ्यताको अन्वेषण गर्ने क्रममा महिला तथा बालबालिका पिङमा रमाउँदै गरेको चित्र कोरिएको माटोको भाँडा भेटिएको थियो । जसले गर्दा पिङ ग्रिक सभ्यतासँग गाँसिएको तथा इसापूर्व पाँचौँ शताब्दीभन्दा अगाडिदेखि नै पिङ खेल्न थालिएको प्रमाणित गर्छ । १२ औँ शताब्दीमा जयदेवले रचना गरेको गीत गोविन्दमा पहिलो पटक राधाको चर्चा तथा राधाकृष्ण झुलाको वर्णन गरिएको थियो । राधा पूर्ण रूपमा जयदेवकृत गीत गोविन्दको काल्पनिक पात्र हुन् । यसरी झुला अर्थात् पिङको प्रवेश भारत तथा नेपालमा भएको स्पष्ट देखिन्छ । 


पिङसँग प्रत्यक्ष रूपमा मनोरञ्जन गाँसिए पनि यो खेल स्वास्थ्यसँग जोडिएको छ । स्वास्थ्यकर्मी शिव पौडेलले पिङ खेल्दा शरीरमा स्फूर्त र ताजगी रहने बताउनुभयो । शरीरका मांसपेशी सबै अन्य खेलमा झैँ चलायमान हुन्छन् साथै पिङ खेलले पाचनमा पनि मद्दत गर्नुका साथै मस्तिष्कलाई पनि चुस्त बनाउँछ । ठुलाहरूले सामूहिक रूपमा पिङ बनाउछन् तर पिङमा मच्चिने ठुलासाना सबै हुन्छन् । पिङमा मज्जाले मच्चिएर आएपछि भोक मज्जाले जाग्ने तथा भोज खाएर पिङ खेलिएमा खाएको पच्ने हुँदा पनि पिङको आवश्यकताको महसुस दसैँमा विशेष हुने पौडेलले जानकारी दिनुभयो । 

सामान्यतया खुला र अग्लो ठाउँमा पिङ बनाउन सुरु भएपछि दसैँको रौनक पनि भित्रिन्छ । बालबालिकासँगै युवा मात्रै होइन, सबै उमेर समूहका मानिस पिङमा झुम्मिने गर्नुहुन्छ । वरिष्ठ सर्जक लोकगायक मच्छेश्वर सापकोटा ग्रामीण भेगमा खेलिने पिङ दसैँतिहारको मुख्य आकर्षण भएको बताउनु हुन्छ । पिङ बनाउने प्रक्रियाले सामूहिकता, एकता, मनोरञ्जन प्रदान गर्ने गर्छ । 

युवकयुवतीले जिस्किने तथा जिस्क्याउने खेल पनि पिङ भएको मैदानमा नै हुन्थ्यो । त्यो बेलामा सामाजिक सञ्जाल नभएकाले पिङ खेल्ने स्थान मायाप्रेम अङ्कुरणको माध्यमसमेत बन्ने गरेको थियो । 

रातभर जाग्राम बसेर पिङ मच्चाउँदै दोहोरीमा पूरा गाउँ नै रमाउने गरेको हुन्थ्यो । लिङ्गेपिङ, रोटेपिङ बनाउनलाई खुला ठाउँको आवश्यकता पर्ने भएकाले खुला चौर राखिएका हुन्थे । मानिससँग पिङ हाल्न पर्याप्त समयको थियो तर अहिले खुला जमिन हराएका छन् । बढ्दो सहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन र पर्याप्त समयको अभाव भएकाले पिङको संस्कृति हराउँदै गएको छ । 

लोकगायक सापकोटा भन्नुहुन्छ, “त्योबेला गाउँ सुन्दर थियो किनकि त्यहाँ मान्छे थिए । अहिले गाउँ सुनसान छ । ग्रामीण भेगमा मानिसको बसोबास पातलिँदै गएको छ । गाउँका होनहार, सक्रिय जनशक्ति नै रोजगारका लागि विदेश पलायन भएपछि पिङ कसले खेल्ने अनि कसले हाल्ने ?” 

दाङका टीकाबहादुर विष्ट आफूहरूसँग चाहना भएर पनि पिङ हाल्न नजान्दा संस्कृति नै मासिएको बताउनुहुन्छ । प्रविधिको बढ्दो हस्तक्षेपलाई पनि केही हदसम्म दोषीको संज्ञा दिन सकिन्छ । प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेलाई । अहिलेका सोखिन मानिस चौरमा पिङ खेल्नभन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउने भएकाले सामूहिक भावनाको विकास हुन सकेको छैन । 

पिङका प्रकार 

स्थानीयस्तरमा हुने स्रोतलाई व्यवस्थापन गरेर पिङ हाल्ने गरिन्छ । यसका धेरै प्रकार हुन्छन् । धेरै ठाउँमा लिङ्गेपिङ हालिन्छ । सहरी भेगमा यो पिङ ज्यादा प्रचलनमा छ । रोटेपिङको प्रयोग पछिल्लो समय कम हुँदै आएको छ । रोटेपिङ बनाउन समय पनि धेरै खर्चिनुपर्ने हुन्छ । यसमा आर्थिक खर्च पनि धेरै लाग्छ । 

युवाको सक्रियतामा काभ्रेपलाञ्चोकको पनौतीमा ४३ वर्षपछि रोटेपिङ घुमाइएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दसैँ आएको भन्दै खुसी साटासाट गरेका छन् । यसअघि विसं २०३६ को दसैँमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो । स्थानीय साधनकै प्रयोग गरेर बनाइएको रोटेपिङको जनश्रमदानबाहेक २० हजार रुपियाँ खर्च भएको र त्यसको जोहो स्थानीयस्तरबाटै भएको थियो ।  रोटेपिङमा खामो, पारिका, आग्ला, पाखुरी, पिर्का, माल्टा र चुकुलको संयोजनबाट बन्ने कुरा युवाले सिकेका छन् । पनौती नगरपालिका–१० का वडा सदस्य उमेशराज महतले केही नौलो प्रयास गरौँ भनेर रोटेपिङ बनाएको बताउनुभयो । उहाँले रोटेपिङ बनाउन युवाको योजना र ज्येष्ठ नागरिकको सिपले सफल भएको बताउनुभयो । पिङले गाउँमा एकता थपेको उहाँले स्पष्ट पार्नुभयो । 

गाउँघरमा युवा एउटै लठारोमा चढेर पिङ मच्चाउँछन् । जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ । गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दसैँका बेला लिङ्गेपिङ हाल्ने चलन हुन्छ तर पछिल्लो समय सो कुरा रोकिएको छ । बाबियोको सट्टा अहिले सिधै डोरीको प्रयोग हुने गरेको छ । 

पहाडमा बाबियोको प्रयोग भए जस्तै तराईमा सनपाटको लठारो बनाउने चलन बिस्तारै हराउँदै गएको छ । सनपाट खेती मासिँदै गएकाले पहिले जस्तो पिङ बनाउन समस्या पर्न थालेको जलेश्वरका राकेशकुमार चौधरीले उल्लेख गर्नुभयो । 

नेपाली परिवेशमा परम्परा र चालचलनलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाको समूह बनाएर पिङ हाल्ने कार्यलाई निरन्तरता दिएका छन् । गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने गरेको छ । केही स्थानीय तहले पिङ बनाउन डोरी किनेर दिन थालेका पनि छन् । केही समयअघिसम्म टोल नै पिच्छे पिङ हुने भएपनि अहिले आएर त्यो अवस्था देखिँदैन । पिङको संस्कृति लोप हुँदै गएको चौधरीले उल्लेख गर्नुभयो । आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति बिस्तारै हराउँदै जानु चिन्ताको विषय बनेको उहाँले बताउनुभयो । पिङ झट्ट हेर्दा रमाइलो गर्ने जस्तो देखिए पनि यो सामूहिकता, एकता र पहिचान भएकाले यसको संरक्षण आवश्यक रहेको चौधरीको बुझाइ छ । 

गाउँमा युवा भेट्न मुस्किल छ । युवालाई चर्खेपिङ बनाउने फुर्सद र सिप पनि छैन । संस्कृतिकै रूपमा विकास भएका पिङको संरक्षणमा चासो नदेखिएकोमा उहाँलाई चिन्ताले छोपेको छ । नेपाली मौलिक परम्परा तथा संस्कृति युवापुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप हुन थालेको छ । पिङ खेल मात्र नभई सामाजिक जीवनमा पनि त्यत्तिकै अर्थपूर्ण छ । पिङ संस्कृतिले सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्छ । पिङ संस्कृति नै हराउन थालेपछि त्यसको प्रभाव सामाजिक जीवनमा पनि पर्ने चिन्ता बढेको छ । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने संस्कृतिसँगै गाउँका बाटा, पाटीपौवा, सार्वजनिक स्थल सरसफाइ गर्ने परम्परासमेत हराउँदै गएका छन् ।

पश्चिम नेपालका गाउँघरमा देखिने पिङ अहिले भने त्यति देख्न पाइँदैन । दसैँका बेला पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले यहाँका ग्रामीण क्षेत्रमा बिरलै देख्न पाइने रामप्रसाद शर्माले बताउनुभयो । अघिल्लो पुस्ताले चलाएका चलन र परम्परालाई नयाँ पुस्ताका युवाले निरन्तरता नदिँदा मौलिक चलन ओझेल पर्ने मात्र नभई हराउने खतरा रहेको छ । स्थानीय सरकार, युवा र सर्वसाधारणले संस्कृति संरक्षणतर्फ ध्यान नदिएका कारण चाडपर्वको मौलिकता हराउन थालेको पुराना पुस्ताका व्यक्तिको गुनासो छ । दसैँका बेला पिङ हाल्ने र त्यो पिङ तिहारपछिसम्म खेल्ने चलन थियो । अहिले भने कहीँकतै मात्र देख्न पाइन्छ । पिङ खेल्ने भनेको विशेषतः दसैँको समयमा हो ।