• २ साउन २०८२, शुक्रबार

एमाले सचिवालय बैठक : ७० बर्से उमेरहद हटाउने प्रस्ताव

blog

ललितपुरको च्यासलमा बिहीबार बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक । तस्बिर : कविन अधिकारी

ललितपुर, साउन २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो । 

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउन प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिनुभयो । एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहने र पदाधिकारीको सङ्ख्या १५ जना रहने प्रस्ताव शुक्रबार बस्ने पोलिटब्युरो बैठकमा पेस गर्ने निर्णय गरिएको छ । 

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी, सरकारको नेतृत्व गरेको एक वर्षको समीक्षालगायत विषयमा छलफल भएको थियो । भण्डारीको जिम्मेवारीको विषयमा छुट्टै बैठक बसेर त्यसबारे छलफल गरिने भएको छ । 

वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष बैठकले निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको पनि बैठकको निष्कर्ष छ । सुशासन र सेवा प्रवाहमा अझ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । देशमा राजनीतिक स्थायित्वको आधार बलियो भएको, दुई पार्टीबिचको समझदारी नीतिगत र अरू निर्णयमा पनि बलियो बन्दै गएको, मुलुकको अर्थतन्त्रले बिस्तारै लय समात्न थालेको निष्कर्ष बैठकले निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । 

एमालेले आगामी भदौ २०, २१ र २२ गते विधान महाधिवेशन गर्दै छ । त्यसको तयारीका लागि असार ११ गते नै बसेको सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने जिम्मेवारी दिएको थियो । 

एमालेका सचिव योगेश भट्टराईले विधान महाधिवेशन भन्नेबित्तिकै विधान संशोधन, सङ्गठनात्मक प्रस्ताव, राजनीतिक प्रतिवेदन र पार्टीका सबै केन्द्रीय निकायको प्रतिवेदन जाने भएकाले यसमा विशेष छलफल हुने जानकारी दिनुभयो । 

विधान महाधिवेशनले पास गरेको विधानकै आधारमा राष्ट्रिय महाधिवेशन हुने भएकाले केन्द्रीय कमिटी निर्माणका लागि प्रतिनिधि चयनबारे छलफल भएको उहाँले उल्लेख गर्नुभयो । यसले पार्टीको अध्यक्ष, पदाधिकारी चयनको मापदण्ड बनाउने भएकाले विधान महाधिवेशनको ठुलो महत्व रहेको उहाँले बताउनुभयो । 

बिहीबारको बैठकमा विधानको संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले पेस गर्नुभएको र त्यसमा सचिवालय सदस्यले आफ्नो राय राख्नुभएको छ । सोही आधारमा एमालेमा १९ बाट १५  जना पदाधिकारी बनाउने प्रस्ताव पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफलका लागि पठाउने निर्णय भएको छ । अहिले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी हुनुहुन्छ ।  संशोधित प्रस्तावमा १५ जना मात्रै पदाधिकारी बनाउन प्रस्ताव गरिएको छ । कुन कुन पद हटाउनेबारे एमालेले सार्वजनिक गरेको छैन । २०७८ असोजमा भएको विधान महाधिवेशनले गरेको व्यवस्थामा महाधिवेशन उद्घाटन भएपछि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी सङ्ख्या १९ पु¥याइएको थियो तर अहिले फेरि घटाउने गरी प्रस्ताव आएको हो । सचिवालय बैठक हुँदै शुक्रबार हुने पोलिटब्युरो बैठक र  साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल हुने छ । 

अघिल्लो पटकको विधान महाधिवेशनले केन्द्रीय कमिटीको सङ्ख्या २२५ बाट बढाएर ३०१ सदस्यीय बनाएको थियो । अहिले सचिवालयले २५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेको छ । 

प्रमुख सचेतकमा भट्टराई  

यसै गरी नेकपा (एमाले) ले राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ । उहाँलाई साउन १ गतेदेखि लागु हुने गरी सो जिम्मेवारीमा मनोनयन गरिएको हो । 

नेकपा (एमाले) को संसदीय दलको नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा मनोनयन गरिएको उल्लेख गर्नुभएको छ । उहाँले विधानबमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमानदारीपूर्वक निर्वाहका लागि शुभकामनासमेत दिनुभएको छ । 

एमालेका प्रमुख सचेतक भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त हुनुभएपछि सो पद रिक्त भएको थियो ।    

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।