काठमाडौँ, साउन ३ गते । पहाडमा ‘रुढा पहिरा’ ले धान खेती पुरिँदा मधेशमा ‘रौदी’ का कारण कृषकले धान रोप्न पाएका छैनन् । अत्यधिक वर्षापछि लेदोसहित आएको बाढीलाई पहाडमा रुढा पहिरा भनिन्छ भने मधेशमा असार, साउनमा सडकमा धुलो उड्नुलाई राम्रो मानिँदैन त्यसलाई रौदी भनिन्छ । त्यसले राम्रो कुराको सङ्केत नगर्ने सप्तरी कल्याणपुर रुपनी गाउँपालिका–४ का ७८ वर्षीय किसान बिन्हाई खङ्ग बताउनुहुन्छ ।
एक महिनादेखि लगातार पानी नपर्दा तराईको मुख्य बाली धानको रोपाइँ हुन सकेको छैन । कृषि विकास निर्देशनालय मधेश प्रदेशका अनुसार अघिल्लो वर्ष असार मसान्तमा मधेश प्रदेशमा ६६ प्रतिशत रोपाइँ भइसकेको थियो । यो वर्ष ठ्याक्कै उल्टो भएको छ । मधेशमा हालसम्ममा ४६ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । रोपिएका धान खेतमा धाँजा फाट्न थालेको छ । विसं २०७९ मा पनि मधेशले यस्तै प्रकारको विपत्तिको सामना गरेको थियो । सो समयमा मुस्किलले ६० प्रतिशत रोपाइँ भएको थियो ।
मधेशमा प्रत्येक २० देखि २५ वर्षमा लामो खडेरी पर्ने गरेको छ । २००७, २०२९, २०४९ मा लामो खडेरी परेको थियो । राजविराज निवासी पूर्वप्रधानाध्यापक नरसिंहलाल कर्णले मिथिला संस्कृतिमा रौदी खडेरी लागेको समयमा महिलाले रातको समयमा इन्द्र भगवान्लाई रिझाउन तन्त्रमन्त्रसहितको गीत गाउँदै ‘जटजटिन’ गर्दा वर्षा हुने विश्वास रहेको बताउनुभयो ।
त्यस्तै मधेशमा मसलाको रुख रोप्न थालेपछि जग्गा रुखो बनाएको र खडेरीलगायतका समस्या बढेको चौधरीले उल्लेख गर्नुभयो । मधेशमा तीन लाख ७२ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । समयमै वर्षा हुँदा ९७ प्रतिशतसम्म रोपाइँ भएको तथ्याङ्क छ । हालसम्म मधेशमा कम्तीमा ७५ प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा रोपाइँ नहुँदा उत्पादनमा ठुलो मात्रामा गिरावट आउने सम्भावना छ । मधेश प्रदेशमा देखा परेको खडेरीको समस्याबारे मधेश प्रदेशका प्रमुख, प्रमुख जिल्ला अधिकारीले छलफलसमेत गरेका छन् । छलफलमा चुरे संरक्षण, नहरको निर्माण, पुराना पोखरीको उत्खनन्, पानी रिचार्जको नयाँ प्रविधिको विकासमा जोड दिएका छन् । मधेश सरकारले लामो समयदेखि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणाको माग गरेको छ । मधेश सरकारले सङ्घीय सरकारसँग विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेको हो । प्रदेश सरकारले धान रोप्न नपाएपछि भोकमरी र महँगी बढ्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालले मनसुनी वायु सक्रिय भए पनि मधेशमा राम्रोसँग वर्षा हुन नसकेको र अहिले त्यहाँ वर्षाको सम्भावना अधिक भएको उल्लेख गर्नुभयो ।