• १८ असोज २०८१, शुक्रबार

बालिकालाई खाने चितुवा नियन्त्रणमा

blog

केजको नजिकै हिँड्दै गर्दा सिसी क्यामेराबाट देखिएको शुक्रवार बिहान नियन्त्रणमा लिइएको चितुवा । तस्बिर सौजन्य : खजुरा गाउँपालिका

खजुरा, असोज १८ गते । बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ सिमल घारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको छ । 

बालिकालाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिनुभयो ।

गत भदौ ३० गते राति आफ्नो घरमा खेल्दै गरेको अवस्थामा बालिका एक्कासि बेपत्ता हुनुभएको थियो । असोज १ गते बिहान बालिकाको शव घर नजिकै रहेको गिजरा सामुदायिक वनबाट आधा शरीर खाएको अवस्थामा भेटिएको थियो । 

स्थानीयले बालिकालाई बाघले खाएको आशङ्का गरेका थिए तर उक्त वनमा बाघ नभएर चितुवा हुन सक्ने आशङ्का गरेर वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिनका लागि तीन वटा खोर (केज) र पाँच वटा सिसी क्यामेरामार्फत खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो । 

“बालिकालाई खाएको चितुवालाई नियन्त्रणमा लिनका लागि गत असोज १ गतेदेखि नै वन क्षेत्रमा तीन वटा फलामको केज (खोर) र वनका पाँच स्थानमा पाँच वटा सिसी क्यामेरा राखेर नियन्त्रण प्रयास गरेका थियौँ ।” वरिष्ठ वन अधिकृत चौधरीले भन्नुभयो, “धेरै ठुलो प्रयासपछि आज १८ दिनपछि चितुवा हाम्रो नियन्त्रणमा आएको छ ।”

चितुवालाई नियन्त्रणमा लिनका लागि हरेक केजमा एक एक वटा बाख्रा राखिएको थियो । बाख्रा राखिएको केजमा चितुवालाई फसाएर नियन्त्रणमा लिइएको वरिष्ठ वन अधिकृत चौधरीले बताउनुभयो ।

भदौ ३० गते रातिदेखि बेपत्ता हुनुभएकी बालिका लक्ष्मीको शव असोज १ गतेका दिन घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलबाट जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा दाहिने खुट्टा मात्र फेला परेको थियो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।