• २६ चैत २०८२, बिहिबार

सडककै चालकको स्वास्थ्य परीक्षण

blog

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), चैत २६ गते ।
नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र गुल्मी, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको सहजीकरणमा चालकहरुको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । गुल्मी पश्चिम गन्तव्य भएर सञ्चालनमा रहेका सरकारी तथा व्यक्तिगत चारपाङग्रे तथा दुई पाङग्रे सवारी साधनका चालकहरुको आँखा तथा ब्लड प्रेसर जाँच गरिएको हो ।

बिहान दुई घण्टा सञ्चालन भएको अभियानमा १०१ जना चालकको स्वास्थ्य परीक्षण गरिएको आँखा उपचार केन्द्र गुल्मीका सूचना अधिकारी बीरबहादुर कार्कीले जानकारी दिनुभयो । परीक्षणको क्रममा सात जनाको आँखामा समस्या देखिएको छ । सवारी दुर्घटना न्यूनीकरणकै लागि चालकको स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिएको नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्र गुल्मीका सचिव पदम पाण्डेले जानकारी दिनुभयो । उहाँले विद्यार्थी, कैदीबन्दी, चालक, प्रहरी, सञ्चारकर्मी लगायतको आँखा परीक्षण गर्दै आएको बताउनुभयो । 

चालकहरुका लागि स्वास्थ्य निकै महत्त्वपूर्ण कुरा हो । धेरै यात्रुलाई सवारीमा राखेर यात्रा गर्नुपर्ने भएकाले चालकहरुले समयमै स्वास्थ्य परीक्षण गनुपर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

सवारीको इन्जिन राम्रो भएर मात्र सडक दुर्घटना कम नहुने भएकाले चालकको शारीरिक तथा मानसिक अवस्थाको चेकजाँच समयमै हुनुपर्नेमा अधिकारीले जोड दिनुभयो । समय–समयमा आँखा तथा स्वास्थ्य परीक्षण हुने गरेकोमा चालकहरु प्नि खुसी छन् । इस्मा गाउँपालिका–४ का सवारी चालक हरि महतराले व्यक्तिगत रुपमा पनि स्वास्थ्य परीक्षण गरिरहेकाले निःशुल्क रुपमा सडकमै गरिएको अभियान पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।