• ११ पुस २०८१, बिहिबार

दुना टपरी बिक्रीबाट आत्मनिर्भर

blog

महिला उद्यमी मिना खड्काले उद्योगबाट उत्पादन गर्नुभएको दुना टपरी । तस्बिर : गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २९ गते । बाँकेका महिलाहरू पछिल्लो समयमा दुना टपरी उद्योगबाट दुना टपरी उत्पादन गरी बिक्री गरेर आत्मनिर्भर बन्दै गएका छन् । 

बाँकेका विभिन्न सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने साल र मालुका (भर्ला)को पातबाट बन्ने दुना टपरी बनाउने उद्योग सञ्चालन गरी दुना टपरी उत्पादन गरेर बिक्री गरी आत्मनिर्भर बन्दै गएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कण्ठीपुरकी महिला उद्यमी मिना खड्काले डेढ वर्ष अघिदेखि दुना टपरी बनाउने मेशिन खरिद गरेर दुना टपरी उत्पादन गरी बिक्री गरेर आत्मनिर्भर बन्दै आउनुभएको छ । 

“बाँकेका विभिन्न सामुदायिक वनहरूमा साल र मालुकाको पात प्रशस्त मात्रामा पाइन्छ, यसैको सदुपयोग पनि हुने र आफ्नो खुट्टामा आफैँ उभिने सोच गरेँर दुना टपरी बनाउनतर्फ लागेँ ।” महिला उद्यमी खड्काले भन्नुभयो, “दुना टपरी बनाउने सोच आएपछि डेढ वर्षअघि मेशिन खरिद गरेर ल्याएँ र दुना टपरी उत्पादन गर्न सुरु गरेँ, अहिले राम्रो बिक्री भइरहेको छ, परिवारका अन्य सदस्यको आस पनि गर्न परेर आफ्नै कमाइमा रमाइरहेकी छु, आत्मनिर्भर बन्न सजिलो भएको छ ।”

उद्यमी खड्काले सुरुमा गुगलमा हेरेर सीप सिकेको बताउनुभयो । “दुना टपरी बनाउने सोच आएपछि गुगल सर्च गरेँ, यसका बारेमा गुगलबाट थुप्रै सूचना र जानकारी प्राप्त भयो, पछि काठमाडौँबाट मेशिन खरिद गरेर ल्याएँ, सीप पनि गुगलबाटै सिकेँ, कतै पनि तालिम लिइनँ ।” उहाँले भन्नुभयो, “सुरुको एक वर्ष बनाएका दुना टपरी कहीँ पनि बिक्री भएन, स्टोर गरेर मात्र राखेँ, बजारीकरणका बारेमा जानकारी नै पाइनँ, पछि महिला उद्यमी सङ्घ बाँकेसँग सम्पर्क भयो र त्यहाँबाट धेरै कुराको जानकारी लिएँ र पछि सबै बिक्री गरेँ ।”

उद्योगमा प्रत्यक्ष रुपमा तीन चार जना महिलाहरूले रोजगारी पाउनुभएको उहाँको भनाइ छ । “उद्योगमा तीन चार जना महिला दिदीबहिनीहरू प्रत्यक्ष आबद्ध हुनुभएको छ, वनमा पात टिप्नका लागि ३० जना जति महिला दिदीबहिनीहरू हुनुहुन्छ, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उहाँहरूले रोजगारी पनि पाउनुभएको छ ।” खड्काले भन्नुभयो, “पात टिपेर ल्याउने दिदीबहिनीहरूसँग उहाँहरूकै घरबाट खुल्ला पात प्रति किलो २० रुपियाँ र बनाएको लाफा दुईदेखि तीन रुपियाँ प्रतिगोटा खरिद गर्ने गरेको छु ।”

खड्काका अनुसार उहाँले दुना चार इन्ची, छ इन्ची, सात इन्ची र आठ इन्ची त्यसै गरी टपरी १० इन्ची र १३ इन्ची साइजको उत्पादन गर्नुहुन्छ । दुना चार इन्चीको ५० पिसको ४० रुपियाँ, छ इन्चीको १०० पिसको ९० रुपियाँ, सात इन्चीको ५० पिसको ९० रुपियाँ र आठ इन्चीको २५ पिसको ७५ रुपियाँका दरले बिक्री हुँदै आएको छ । त्यसै गरी टपरी १० इन्चीको २५ पिसको १२५ रुपियाँ र १३ इन्चीको २५ पिसको १५० रुपियाँमा बिक्री हुने गरेको छ ।

मेशिनबाट दैनिक १३ सय पिससम्म दुना टपरी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उत्पादन भएको दुना टपरीहरू जिल्लामा मात्रै खपत नभएर दैलेख सुर्खेतसम्म पनि जाने गरेको उहाँको भनाइ छ । प्रवर्धन र बजारीकरणका लागि स्थानीय रूपमा लाग्ने मेला तथा महोत्सवमा समेत लैजाने गरेको उहाँले बताउनुभयो ।

आफ्नै वन जङ्गलमा सजिलै रूपमा उपलब्ध हुने पातलाई प्रयोग गरी बनाइएका उद्यमीहरूको उत्पादन बजारीकरण गर्नका लागि स्थानीय सरकारले पनि हेर्नुपर्ने उहाँले बताउनुभयो । “बजारभरि प्लास्टिकका दुना र टपरी पाइन्छ, यसको प्रयोगले स्वास्थ्यमा समेत नकारात्मक असर गर्दछ, स्थानीय उत्पादन साल र मालुकाको पातबाट बनेका स्थानीय उद्यमीले तयार पारेका दुना टपरी बिक्री गर्न र बजारीकरणका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “प्लास्टिकका त्यस्ता वस्तु विस्थापित गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनुपर्छ ।”

भदौदेखि चैत महिनासम्म पात सङ्कलन हुने सिजन भएकाले दिदीबहिनीहरूले सोही समयमा पात सङ्कलन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँहरूले सङ्कलन गरेर ल्याएका पातहरूलाई घाममा सुकाएर बोरामा हालेर स्टोर गर्दै आएको उहाँको भनाइ छ । 

अन्य समयमा भन्दा धेरैजसो असोज महिनादेखि फागुनसम्म दुना टपरीको बढी माग हुने गरेको छ । उक्त समयमा चाडबाड पर्ने तथा विवाह, व्रतबन्ध, पूजाआजा जस्ता कार्यहरू हुने गरेकाले बढी माग हुने गरेको खड्काले बताउनुभयो । होटेल, रेस्टुरेन्ट, मःम तथा चाउमिन पसलहरूमा बढी दुना टपरीको माग हुने गरेको छ ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।