खजुरा, असोज २१ गते । परम्परागत सीप र प्रविधिको प्रयोगमा आधारित रहेर पुस्तौँदेखि सञ्चालन हुँदै आएका बाली घरे प्रथा ‘आरन पेसा’ पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेपछि प्युठानको एक वडा कार्यालय संरक्षणको प्रयासमा जुटेको छ ।
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ को कार्यालयले वडाभित्र रहेका परम्परागत रूपमा सञ्चालनमा रहेका आरन पेसालाई संरक्षण र संवर्धन गर्न जुटेको हो ।
आधुनिकतासँगै पुरानो शैली र ढर्राबाट सञ्चालन हुँदै आएका परम्परागत आरन पेसा सङ्कटमा पर्ने र लोप नै हुने अवस्था आउन थालेको भन्दै यसलाई जोगाउन वडा कार्यालय जुटेको बताउनुहुन्छ ऐरावती गाउँपालिका ६ का अध्यक्ष भरतबहादुर खड्का ।
“हाम्रो वडाभित्र परम्परागत रूपमा सञ्चालन हुँदै आएका करिब १०÷१२ वटा आरन थिए, अहिले आएर मुस्किलले ३÷४ वटा मात्र सञ्चालनमा होलान् ।” अध्यक्ष खड्काले भन्नुभयो, “प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रूपमा रहेका आरन पेसा सङ्कटमा पर्न थालेपछि यसलाई जोगाउने अभियानमा हामी लागेका छौँ ।”
बाली घरे प्रथाका आरन पेसालाई संरक्षण गर्नका लागि वडाभित्र रहेका विभिन्न आरनलाई समयमयमा विभिन्न सहयोग गर्दै आएको बताउनुहुन्छ वडा सदस्य शिव श्रेष्ठ ।
“वडामा रहेका करिब ८÷९ वटा आरनलाई वडा कार्यालयले टिनको छानो र आगो बाल्न प्रयोग गरिने पङ्खा वितरण गर्यौँ, थोरै भए पनि सहयोगले दीर्घकालीन रूपमा सञ्चालन गर्न सहज होला भनेर ।” श्रेष्ठले भन्नुभयो, “कोही रोजगारीका लागि विदेश गए, कसैको मृत्यु भयो, सहयोग गर्दागर्दै पनि मुस्किलले हाल ३÷४ वटा मात्र आरन सञ्चालनमा होलान् ।”
वडा कार्यालयसँग ठुलो बजेट नहुँदा चाहँदा चाहँदै पनि धेरै सहयोग गर्न नसकिएको र समयसँगै प्रविधिको प्रयोग बढ्दै जाँदा बिस्तारै आरनलाई आवश्यक प्रविधि उपकरण पनि भविष्यमा सहयोग गर्ने वडा कार्यालयको योजना भएको उहाँले बताउनुभयो ।
फलामको धातुबाट बन्ने सबै प्रकारका घरायसी प्रयोजनका लागि प्रयोग हुने हातहतियार तथा औजारहरू आरनबाटै निर्माण गरिन्छ । आफ्नो बाजेबराजुले गर्दै आएको पुर्ख्यौली पेसा भए पनि यसलाई व्यावसायिक रूपमा भने पुस्तान्तरण र रूपान्तरण गर्न समस्या रहेको बताउनुहुन्छ च्यूरापानी काठे पोखराका आरन व्यवसायी बोमबहादुर विश्वकर्मा ।
“समयसँगै परिवर्तन हुँदै आएका आधुनिक प्रविधिसँग हाम्रो परम्परागत आरन पेसाले प्रतिस्पर्धा गर्न सक्दैन, प्रविधिभन्दा हामी धेरै पछाडि छौँ ।” बोमबहादुरले भन्नुभयो, “बाजेबराजुदेखि चल्दै आएको रैथाने र पुर्ख्यौली पेसालाई पुस्तान्तरण र रूपान्तरण गर्न पनि समस्या देखिएको छ ।”
“बाउ बाजेका पालासम्म भ्याई नभ्याई काम हुन्थ्यो, चारैतिरबाट फलाम लिएर औजार बनाउन आउने र बनेका औजारहरूलाई धार लगाउन हामीलाई भ्याई नभ्याई हुन्थ्यो ।” बोमबहादुरले भन्नुभयो, “तर अहिले बजारमा बनिबनाउ औजारहरू पाइन थाले, औजार पिटाउनका लागि पनि मान्छेहरू आधुनिक मेशिनतिर जान थाले, उताबाट छिटोछरितो हुने भो, हामीबाट अलि ढिला हुने भो ।”
आरन पेसा समयसँगै थोरै थोरै परिवर्तन हुँदै आएको भने उहाँ बताउनुहुन्छ । “बाउ बाजेका पालासम्म आरनमा कोइला बाल्नका लागि बाख्राको छालबाट बनेको दुई वटा हातले चलाउने खलाँटी प्रयोग हुन्थ्यो, त्यसपछि गोरुको छालाबाट बनेको साङ्लाको सहायताले एक हातले चलाउन मिल्ने भाटी आयो ।” बोमबहादुरले भन्नुभयो, “ अहिले भने एक हातले घुमाउन मिल्ने पङ्खा आएको छ, केही सहज भएको छ ।”
“पहिला पहिला सालको मात्र गोल बनाइने र त्यो गोलको कोइला आडिलो हुँदा थोरै गोलले पनि धेरै औजार बनाउन र पिटाउन मिल्थ्यो । तर अहिले त्यो हरायो, जुन पायो त्यही काठको टुक्राहरूबाट गोल बनाउँदा धेरै समय लाग्ने र कोइलाको पनि धेरै प्रयोग गर्नुपर्छ ।” बोमबहादुरले भन्नुभयो ।
पुस्तौँदेखि चल्दै आएको पुर्ख्यौली पेसा अब भने पुस्तान्तरण हुँदैन कि भन्ने बोमबहादुरले चिन्ता गर्नुभयो । “दुई वटा छोरा छन्, एउटा सानै छ, ठुलो छोरा चाहिँ रोजगारीका लागि भारत गएको छ, काम त जानेको छ तर भारततिर जाने आउने गर्दछ ।” उहाँले भन्नुभयो, “काम मात्र जानेर भएन, आरनमा बसेर गर्नुपर्यो, बाजेबराजुदेखि चल्दै आएको पेसालाई मैले त जनजन धानेँ तर अब भने के गर्छन् थाहा छैन ।”
वडा कार्यालयले आरन छाउनका लागि टिन सहयोग गरेको र आरनमा टिन पनि लगाएको बोमबहादुरले बताउनुभयो । यति सहयोगले मात्र नपुग्ने र परम्परागत आरन पेसालाई जोगाउनका लागि विद्युतबाटट चल्ने आधुनिक प्रविधि आवश्यक रहेको बोमबहादुरको भनाइ छ । विद्युतबाट चल्ने आधुनिक प्रविधि भए काम पनि छिटोछरितो हुने र अत्याधुनिक प्रविधिसँग पनि थोरै भए पनि प्रतिस्पर्धा गर्न सकिने उहाँको भनाइ छ ।