• २१ पुस २०८१, आइतबार

लोकल कुखुराको स्वास्थ्य परीक्षण

blog

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट आएको विज्ञ टोलीले कुखुराको स्वास्थ्य परीक्षण गर्दै । तस्बिर सौजन्य ः कुखुरा विकास फार्म

खजुरा, मङ्सिर १४ गते । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्ममा रहेका स्थानीय प्रजातिका कुखुराको स्वास्थ्य परीक्षण गरिएको छ ।
कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा.सुमन खनालले फार्ममा रहेका सात प्रजातिका स्थानीय ग्रामीण जातिका कुखुराको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । 
“हामीले स्थानीय प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दै आएका छौँ, कुखुराको स्वस्थ चल्ला उत्पादनका लागि भाले र माउ पोथीको स्वास्थ्य परीक्षण जरुरी हुन्छ ।” फार्म प्रबन्धक डा.खनालले भन्नुभयो, “स्वस्थ चल्ला उत्पादनका लागि हरेक तीन तीन महिनामा भाले र माउ पोथीको स्वास्थ्य परीक्षण गर्दै आएको छौँ, यस पटक सात प्रजातिका स्थानीय ग्रामीण प्रजातिका कुखुराको स्वास्थ्य परीक्षण गरेका छौँ ।” 
उहाँका अनुसार साकिनी, घाँटी खुइले, प्वाँख उल्टे, न्यु हेम्पसायर, ब्लाक अष्ट्रालोप, कडकनाथ र खजुरा साइनी कुखुराका भाले र पोथीको स्वास्थ्य परीक्षण गरिएको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट आएको विज्ञ टोलीले कुखुराको स्वास्थ्य परीक्षणका लागि रगत र स्वाब सङ्कलन गरेर लगेको उहाँले जानकारी दिनुभयो ।
कुखुरा तथा चल्लाको गुणस्तर वृद्धि गर्नका लागि कुखुराको रगत र स्वाबको नमुना सङ्कलन गरिएको हो । रानी खेत तथा बल्र्डफ्लु रोगहरूका बारेमा जानकारी लिनका लागि उक्त परीक्षण गरिएको खनालले बताउनुभयो । केही दिनपछि परीक्षणको नतिजा आउने र केही समस्या देखिएमा थप उपचार गर्न सहज हुने उहाँको भनाइ छ ।
यस अघि गरिएको परीक्षणमा कुखुरामा कुनै रोग नभएको पाइएको उहाँले बताउनुभयो । “नियमित रूपमा हामीले औषधी उपचार गरिरहेका हुन्छौँ, सुशुप्त अवस्थामा रहेका भाइरसहरू पत्ता लगाउनका लागि समय समयमा हामीले कुखुराको स्वास्थ्य परीक्षण गर्ने गरेका छौँ, उनीहरूको स्वास्थ्यमा केही समस्या देखिएमा तत्काल आवश्यक उपचार गर्छौँ ।” डा. खनालले भन्नुभयो ।
हाल कुखुरा विकास फार्मममा चल्ला उत्पादनका लागि विभिन्न स्थानीय ग्रामीण प्रजातिका भाले र पोँथी गरेर करिब ४५०० कुखुराहरू रहेको फार्मले जनाएको छ । फार्मबाट चल्ला उत्पादन र बिक्री वितरण मात्र नभएर अण्डा उत्पादन र बिक्रीसमेत हुँदै आएको छ ।
लुम्बिनी प्रदेश मात्र कार्यक्षेत्र रहेता पनि हाल फार्मबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत एक दिने चल्ला र हुर्केको चल्ला वितरण गर्ने गरिएको र गण्डकी तथा मधेस प्रदेशमा पनि माग अनुसार हुर्केको चल्ला वितरण हुँदै आएको फार्मले जनाएको छ ।
Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।