• ७ मंसिर २०८१, शुक्रबार

आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित

blog

डुडुवा ६ हिरमिनियाका किसान वंशीलाल मौर्यले आलुको बिउ लगाउनुभएको खेत । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २८ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षातका कारण खेतमा राखेको लाखौँको आलुको बिउँ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् ।

गत १९ गते अकस्मात् परेको बेमौसमी वर्षात्का कारण वडा नं. ६ का किसानले तीन सय हेक्टर बढी जमिनमा लगाएको आलुको बिउ कुहिँदा उनीहरू पीडित बनेका छन् । आलुको बिउँ कुहिँदा किसानहरूको करिब एक करोड रुपियाँ लगानी खेर गएको अनुमान गरिएको छ ।

डुडुवा ६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बिउँ वर्षात्का कारण कुहिँदा लाख भन्दा बढी रुपियाँको घाटा व्यहोरेको बताउनुभयो । “तिहारको भोलि पटक १९ गतेका दिन अकस्मात् पानी पर्‍याे, पानी आलु लगाएको खेत भरी जम्यो, पानी जमेका कारण बिउ उम्रिएन, सबै कुहियो ।” मुराउले भन्नुभयो, “मेरो एक लाख ३५ हजार रुपियाँ रकम खेर गयो ।”

आलुको बिउ लगाएको १८ दिन भएको भन्दै उहाँले भन्नुभयो, “आलु लगाएको आज १८ दिन पुगिसक्यो, लगभग १४÷१५ दिनमा आलु उम्रिने गर्छ, एउटा पनि टुसाएको छैन, खनेर हेर्दा बिउ सबै कुहिएको छ ।” मुराउले भन्नुभयो, “आलु त कुहियो कुहियो, अब हिउँद भरी जमिन बाँझो हुने चिन्ताले सताएको छ, फेरि आलु लगाऊँ भने समय मिल्दैन, यो खेतमा फागुनमा मात्र चैते मकै छर्ने हो, तबसम्म खेत बाँझो हुने भयो ।”

आलु मात्र उत्पादन नगरेर आलुको बिउँसमेत उत्पादन गर्दै आउनुभएका अर्का किसान वंशीलाल मौर्यले वर्षाले गर्दा ठुलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । “मैले करिब ४० देखि ४५ बिघा क्षेत्रफल जग्गामा आलु लगाउँदै आएको छु, आलुको बिउ मात्र उत्पादन गर्नका लागि दुई विगाहा पाँच कट्ठा जमिनमा बिउ लगाएको थिएँ ।” खेतमा पानी जमेका कारण सबै नष्ट भयो, यो वर्ष निकै ठुलो क्षति व्यहोर्नुपर्यो ।”

“छ हजार रुपियाँ क्विन्टलका दरले बिउ खरिद गरेर लगाएको आलु कुहिँदा मैले मात्र लाखौँ रुपियाँको क्षति व्यहोरेँ, मल, मजदुरी त कता गयो गयो ।” मौर्यले भन्नुभयो, “लगाएको १६÷१७ दिन पुगेको छ, माटोमुनि कुहिएको अवस्थामा बिउ छ, चिसो खेतमा केही लगाउन मिल्दैन, चिस्यान सकियो भने त्यो ठाउँमा अन्य केही बाली लगाउनुपर्ला, यो वर्ष आलु खेती सकियो ।”

डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट भएर अन्दाजी करोड रुपियाँ बराबरको आर्थिक क्षति पुगेको बताउनुभयो । “हाम्रो वडा आलुलगायत तरकारीको पकेट क्षेत्र हो, यहाँका सबै किसानले तरकारी खेती गर्नुहुन्छ, बेमौसमी वर्षात्ले गर्दा ७० प्रतिशत किसानको आलुलगायत धानबालीमा क्षति पुगेको छ ।” वडाध्यक्ष मिश्रले भन्नुभयो, “तीन सय देखि साढे तीन सय हेक्टरमा लगाएको आलु खेती नष्ट भयो, वडामा सानातिना किसानले पनि आलु खेतीमा कम्तीमा दुईदेखि तीन लाख रुपियाँसम्म लगानी गरेका छन् ।”

वडाध्यक्ष मिश्रका अनुसार हरेक किसानले एक कट्ठा जमिनदेखि लिएर ५० बिघाभन्दा बढी जमिनमा आलु खेती गर्ने गरेका छन् । “अब आलुको बिउ कुहिएर उम्रिएन, यसले गर्दा कोल्ड स्टोरलाई पनि धक्का लागेको छ, आलु फलेर उत्पादन भइसकेपछि यहाँका किसानहरूले बिउँका लागि कोल्ड स्टोरमा एक हजार क्विन्टल बढी आलु राख्ने गर्दथे ।” उहाँले भन्नुभयो, “कोल्ड स्टोर खाली हुने भयो, अर्को वर्ष आलुको बिउ पाउन मुस्किल हुने देखिएको छ ।”

वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगन्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा ठुलो क्षति पुगेको उहाँले बताउनुभयो । “आलु लगाएका किसानले आलु उत्पादन भइसकेपछि त्यो जग्गामा मकै लगाउने र मकै उत्पादनपछि धान रोप्ने गर्दथे तर अब उत्पादन सर्कल नै बिग्रियो ।” मिश्रले भन्नुभयो ।

आलु मात्र नभएर वडामा धानको समेत ठुलो क्षति भएको उहाँले बताउनुभयो । क्षति भएको धान बालीको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकाबाट परिपत्र भएको र तथ्याङ्क सङ्कलन कार्य पनि सुरु गरिएको तर आलु खेतीका बारेमा कहीँ कतैबाट केही प्रक्रिया नबढेका कारण सरकारसँग किसानको क्षति भएको आलु खेतीको क्षतिपूर्ति दिनका लागि उहाँले माग गर्नुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवा ६ का किसान बढी पीडित भएको पाइएको बताउनुभयो । “पानीका कारण अन्य ठाउँमा भन्दा त्यहाँका किसानलाई ठुलो क्षति भएको पाइयो, हामी पनि अनुगमनका गएका थियौँ, त्यहाँका किसानको धान बालीमा समेत क्षति पुगेको छ ।” उहाँले भन्नुभयो, “हामीसँग अहिले नै किसानलाई राहत दिने कुनै कार्यक्रम छैन, स्थानीय तहले धानको क्षतिका बारेमा तथ्याङ्क सङ्कलन गर्दै छन्, आलुका बारेमा के गरेका छन् जानकारी छैन ।”

आलु खेती प्रभावित क्षेत्रका किसानलाई आगामी योजनामा विशेष कार्यक्रम बनाएर हाल्ने सोच बनाएको उहाँको भनाइ छ । उक्त वडा बाँके जिल्ला मै बढी तरकारी उत्पादन हुने क्षेत्र हो । सो क्षेत्रलाई तरकारी पकेट क्षेत्रै घोषणा गरिएको छ ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।