• १२ असार २०८१, बुधबार

उपत्यकामा निर्वाचन शान्तिपूर्ण

blog

काठमाडौं, वैशाख ३० गते । देशका ७५० वटा स्थानीय तहमा एकैसाथ निर्वाचन भइरहेको छ । मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति पनि उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ । केही जिल्लाका मतदान केन्द्रमा छिटपुट झडपका घटना भए पनि अन्य ठाउँमा भने शान्तिपूर्ण रुपमा नै मतदान भएको आयोगको भनाइ छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा पनि मतदान प्रकृया शान्तिपूर्ण रुपमा चलिरहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताउनुभएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रजिअको भनाइ छ । 

काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालका अनुसार जिल्लामा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको बताउनुभएको छ ।  विहान ७ बजेदेखि सुरु भएको मतदान प्रकृयामा विहानदेखि नै मतदाताको उत्साहजनक उपस्थिति पाइएको उहाँले बताउनुभएको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा रहेकाले मतदान केन्द्रमा कुनै अवरोध सृजना नभएको उहाँले बताउनुभयो । 

उपत्यकाको ललितपुर जिल्लामा पनि शान्त र उत्साहपूर्ण तरिकाले मतदान भइरहेको प्रजिअ घनश्याम उपाध्यायले बताउनुभयो । जिल्लाका सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताहरुले ढुक्क भएर मत खसालिरहेको उहाँको भनाइ छ । अनुगमनका क्रममा विहान १० बजेसम्म मदाताको उपस्थिति बाक्लो रहेको तर, त्यसपछि केही पातलो उपस्थिति देखिएको उहाँले बताउनुभयो । 

काठमाडौं र ललितपुर जिल्लामा जस्तै भक्तपुर जिल्लामा पनि उत्साहपूर्ण रुपमा मतदान चलिरहेको प्रजिअ रुद्रादेवि शर्माले बताउनुभयो । जिल्लामा दिउँसो १ बजेसम्म ३५ प्रतिशत मत खसिसकेको उहाँको भनाइ छ । बिहानपख भन्दा दिउँसो मतदाताको उपस्थिति भने केही पातलो पाइएको उहाँको भनाइ छ ।