• १३ असोज २०८१, आइतबार

पहिरोले पुरिएका दुई बसबाट १४ शव निकालियो

blog

पहिरोले पुरिएका दुईवटा बस

मुरारी अधिकारी

धादिङ, असोज १२ गते । पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको हो ।

लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र अर्को एक नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभएको छ । 

शव हाल घटनास्थलमा राखिएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएको थियो । 

देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुंगा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।