• १५ वैशाख २०८१, शनिबार

मतदानमा उत्साही कलाकार

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख ३० गते । वैशाख ३०, देशभर एकै पटक स्थानीय तहको जनप्रतिनिधि छान्न मतदान गरिने दिन । केही दिनदेखि नै धेरैलाई चुनावी चटाराले छोइसकेको थियो । यसबाट नेपाली कलाकार पनि अछूतो रहन सक्ने कुरै भएन । कलाकारहरू मतदान गर्न एकदमै उत्साहित देखिनुहुन्छ । उहाँहरू कोही केन्द्रीय राजधानीमै मतदान गर्दै हुनुहुन्छ भने कोही जिल्लाबाहिर आफ्नो घर नजिकैको मतदान स्थलमा पुगेर भोट खसाल्ने तयारीमा हुनुहुन्छ । 

कलाकार दीपकराज गिरी चन्द्रागिरि नगरपालिका दहचोक वडा नं. १ बाट मतदान गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म राजनीतिक दलबाट टाढा छु तर राजनीतिबारे जानकार छु । यसबारे प्रशस्त ज्ञान भने म राख्छु । यो भनेको हामी नेपालीका लागि उत्सव जस्तै हो । त्यसैले म सबैलाई भोट खसाल्न जान आग्रह गर्छु ।”

“योग्य, देश र जनताको हित चिताउनेलाई भोट गरौँ,” उहाँले भन्नुभयो । गिरी राजनीतिक शास्त्रका विद्यार्थीसमेत हुनुहुन्छ । दलका गतिविधिबारे जनताले खबरदारी गर्न उहाँ सधैँ सचेत हुनुहुन्छ । निर्वाचनका समयमा निर्वाचन स्थलमा हुने गतिविधि नजिकबाट नियाल्नु, स्थानीय स्तरबाट उठेका उम्मेदवारबारे जानकारी राख्नु चुनावको दिनको उहाँको दिनचर्या नै हो । “म दिनभर चुनावी गतिविधि नजिकबाट नियाल्छु अनि भोट दिन लाइनमा प्रवेश गर्छु,” कलाकार गिरीले बताउनुभयो । 

हाम्रालाई भन्दा पनि राम्रोलाई भोट दिनुपर्छ भन्नुहुन्छ, निर्मात्री रोशनी केसी । काठमाडौँको तीनकुनेको ३२ वडामा केसीले मतदान गर्दै हुनुहुन्छ । परिवर्तनका लागि मतदान गर्ने हो, त्यसैले सोचेर, बुझेर भोट दिन केसी सबैसँग आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “ढिला जाने सोच छ किनकि लाइन बस्नुपर्दैन ।

” कसैले मतदानलाई उत्सव भन्नुभएको छ भने कोही चलचित्रको सुटिङका कारण यस पटक मतदान गर्न नपाएकोमा दुःखी देखिनुहुन्छ । यस पटक कार्य व्यस्तताका कारणले मतदान गर्न नपाउने बताउनुहुन्छ नायिका सुरक्षा पन्त । “मेरो मतदान गर्ने ठाउँ बुटवल हो तर सुटिङले गर्दा मेरो एक भोट खेर जाने भयो । एकदमै दुःख लागेको छ,” उहाँले भन्नुभयो ।

बारा जिल्लाको डुमरवानाबाट भोट खसाल्न लाग्नुभएका रङ्गकर्मी राजन खतिवडा भोट खसाल्न पाउँदा एकदमै उत्साहित देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनतामा मतदान गर्ने उत्साह छ, जुन एकदमै राम्रो हो । फेरि यस पटक मैले चिनेका साथीहरू पनि उम्मेदवार हुनुहुन्छ । त्यसैले पनि म उत्साहित छु ।”

गायिका रााधिका हमाल दाङको त्रिवेणी–७ बाट मतदान गर्दै हुनुहुन्छ । हिजोबाट पानी परिरहेको हुँदा के गर्ने भन्ने हमाल अन्योलमा हुनुहुन्छ । “भोट त खसाल्न नै पर्छ । समयमै पुगेर लाइन बसेर भोट दिएर आउने हो,” उहाँले भन्नुभयो ।  धेरै कलाकार अभिनयसँगै राजनीतिमा सक्रिय देखिएका छन् । त्यसैले पनि उनीहरू यस पटकको चुनावमा धेरै नै उत्साहित छन् । 

काभ्रेको पनौतीबाट मतदान गर्दै हुनुहुन्छ चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का । उहाँ पनि यस पटकको चुनावमा धेरै नै उत्साहित देखिनुुहुन्छ । समाज बन्यो भने मात्र देश बन्छ, त्यसैले निर्वाचनमा राम्रो मान्छे छान्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबैले मत हालौँ, आफ्नो मताधिकारलाई खेर नफालौँ ।”

योग्य जनप्रतिनिधि चुन्ने यो मौकालाई सबैले सदुपयोग गर्दै चुनावमा भोट दिन जाऔँ । आफ्नो गाउँघर स्थानीय स्तरका समस्यालाई बुझेर समाधानका लागि उपाय खोज्ने जनप्रतिनिधि छान्न सके मात्रै गाउँ समाजको मुहार फेरिनेछ ।