• १० मंसिर २०८१, सोमबार

पुष्प व्यवसायमा नौ अर्ब लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको नौ अर्ब रुपियाँ लगानी रहेको छ । मुलुकभरका ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प खेती विस्तार हुँदै गएको छ । आत्मनिर्भर अवस्थामा पुगेको पुष्प व्यवसाय विस्तार गर्न नीतिगत तबरबाट समस्या सामाधान गरिनुपर्ने व्यवसायीको भनाइ छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायलाई प्रवर्धन गर्न पुष्प प्रवर्धन नीति कार्यान्वनमा ल्याउनुपर्ने बताउनुभयो । तिहारका बेला फूलका माला आयात गर्नुपरे पनि अन्य समयमा फूलमा आत्मनिर्भर बन्द गएको उहाँको भनाइ छ । 

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्केका युवा पुष्प व्यवसायमा आकर्षित हुँदै गएका छन् । बजारमा फूलको कारोबार हरेक वर्ष बढ्दो अवस्थामा रहेको छ । एसोसिएसनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा करिब चार अर्ब रुपियाँ बराबरको फूलको कारोबार भएको थियो । सो अवधिमा १९ करोड रुपियाँ बराबरको फूल निर्यात हुँदा २७ करोड रुपियाँको आयात भएको थियो । 

आव २०७९/८० आव २०७८/७९ मा नेपालमा ३० प्रतिशतले व्यवसाय वृद्धि भएर फूलको कारोबार दुई अर्ब ३० करोड रुपियाँ पुगेको थियो तर आव २०७९/८० मा कारोबारमा ३३.६ प्रतिशतले वृद्धि भई तीन अर्ब १० करोड रुपियाँभन्दा बढीको भएको थियो । गत वर्षदेखि ५० लाखभन्दा बढी कारोबार गर्ने कृषि कम्पनीलाई १३ प्रतिशत मूल्य अभिवृद्धि करको व्यवस्था र ५० लाखभन्दा कम कारोबार गर्नेलाई भ्याट नलाग्दा व्यवसायीलाई समस्या परेको तामाङको भनाइ छ । व्यवसाय गर्ने कृषकले कृषि कर्जा नपाउनु, आयातित प्लास्टिकजन्य फूलको आयात निर्यातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा भित्रिने फूलका कारणले व्यवसाय सञ्चालन गर्न समस्या परेको पुष्प व्यवसायीको भनाइ छ । प्लास्टिकजन्य फूलको प्रयोग हुँदा स्थानीय उत्पादकलाई प्रत्यक्ष मार पर्ने गरेको व्यवसायीको भनाइ छ । पुष्प व्यवसायबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा ठुलो सङ्ख्यामा रोजगारी उपलब्ध भएको छ । 

अध्यक्षमा दिलीप बादे

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा दिलीप बादे निर्वाचित हुनुभएको छ । एसोसिएसनको शुक्रबार सम्पन्न ३२ औँ वार्षिक साधारण सभाबाट बादे निर्वाचित हुनुभएको छ । बादेले अध्यक्ष पदमा भएको निर्वाचनमा निर्वतमान अध्यक्ष मीनबहादुर तामाङलाई पराजित गरेका हुन् । 

यसै गरी वरिष्ठ उपाध्यक्षमा राजेशभक्त श्रेष्ठले सीताराम पन्त र उपाध्यक्षमा रामबहादुर निर्वाचित हुनुभएको छ । महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ, कोषाध्यक्षमा राजकृष्ण बजगाईं निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यमा कृष्णराम थापा, सुमन महर्जन, इन्द्रकुमार श्रेष्ठ, मन्दिर श्रेष्ठ, उत्तम तिमिल्सिना, रन्जिता जिमी र कमला लामा निर्विरोध निर्वाचित भएका छन् ।