• २९ भदौ २०८१, शनिबार

सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस

सोच बदले रोक्न सकिन्छ आत्महत्या

blog

काठमाडौँ, भदौ २५ गते । लगनखेलस्थित मानसिक अस्पतालमा आत्महत्या रोकथामका लागि स्थापना भएको हटलाइन सेवा प्रभावकारी बन्दै गएको छ । आत्महत्या बढ्दै गएपछि संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिले आत्महत्या रोकथाम गर्न निर्देशन दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याइएको थियो । मानसिक अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीले तीन वर्षको अवधिमा २८ जना व्यक्तिलाई आत्महत्या गर्दैगर्दाको अवस्थामा रोक्न सफल भएको जानकारी दिनुभयो । कतिपय व्यक्तिले अन्तिम अवस्थामा म यो अवस्थामा छु, आत्महत्या गर्नै लागिसकेँ भनेर फोन आउने गर्दछ, डा. कार्कीले भन्नुभयो, “त्यो अवस्थामा नजिकैको प्रहरी र मेडिकल टिमलाई तत्काल खबर गरेर उक्त व्यक्ति भएको ठाउँमा पठाउने गरिन्छ ।” 

प्रहरीले उद्धार गरिसकेपछि उनीहरूलाई परिवारको सहयोगमा स्वास्थ्यकर्मीले काउन्सिलिङ गर्ने गर्छन् ।” डा. कार्कीका अनुसार आत्महत्या गर्न लागेका व्यक्तिलाई केहीबेर फोनमै व्यस्त गराइन्छ । फोनमा व्यस्त गराउँदागराउँदै टोलिफोन नम्बरको आधारमा लोकेसन ट्र्याक गरेर नजिकैको प्रहरी र मेडिकल टिमलाई त्यहाँ पठाउने गरिन्छ । 

के कारणले आत्महत्या गर्न लागेको हो, त्यसको कारण खोजेर काउन्सिलिङ गर्न सकिने उहाँको भनाइ छ । उहाँले आर्थिक, रोजगारी, अशिक्षालगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको जानकारी दिनुभयो । 

उहाँले अस्पतालले सञ्चालनमा ल्याएको हटलाइन नम्बरमा दैनिक ४० जनाको फोन आउने गरेको जानकारी दिँदै आत्महत्याको सोच आएका व्यक्ति जिन्दगीदेखि दिक्क लागेका, मानसिक रोगको उपचार गराइरहेकाले फोन गर्ने गरेको जानकारी दिनुभयो । डा. कार्कीले ११६६ हटलाइनमा टेलिफोन गर्ने  सबैभन्दा बढी १५ देखि ३५ वर्ष उमेर समूहका रहेको जानकारी दिनुभयो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले आत्महत्याका घटना बढ्दै जानुमा मानिसमा नैरश्यता हुनु, बेरोजगार, आर्थिकलगायतका कारण प्रमुख रहेको बताउनुभयो । उहाँले आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने बताउनुभयो । 

आत्महत्याको समस्यालाई सबै मिलेर कम गर्न सकिने भन्दै उहाँले यसमा आउने समस्याबारे खुलेर कुरा गर्न नसक्दा अप्रिय घटना हुने गरेको जानकारी दिनुभयो । उहाँले सञ्चार माध्यमले आत्महत्याका घटनामा सजकता अपनाउनुपर्ने बताउनुभयो । 

नेपालमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए । यसैबिच हरेक वर्षको सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । यो वर्ष पनि मङ्गलबार नेपालमा आत्महत्या रोकथामसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागिएको छ । यो वर्षको दिवसको नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने रहेको छ । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।