• १३ पुस २०८१, शनिबार

सागकी स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु मृत अवस्थामा फेला

blog

काठमाडौँ, वैशाख २७ गते । चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सन्जय महर्जनको घरमा मङ्गलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।

प्रशिक्षक सन्जयको घरमा बस्दै आउनुभएकी सञ्जु आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारोत्तोलनका पूर्वमुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताका अनुसार सोमबार प्रशिक्षक महर्जनको घरमा भोज भएको र भोजमा भारोत्तोलन खेलसँग सम्बद्ध व्यक्तिहरुको जमघट हुँदा सञ्जुसँग सामान्य रुपमा भेट भएको थियो ।

सञ्जुलाई आफूले सोमबार सामान्य अवस्थामा पाएको पनि पूर्वप्रशिक्षक गुप्ताले बताउनुभयो । घटनास्थलमा प्रहरी पुगिसकेको र परिवारको रोहबरमा  घटनाको मुचुल्का उठाउने काम भइरहेको नेपाल भारोत्तोलन सङ्घले जनाएको छ । बाँके स्थायी घर भएकी सञ्जु केही दिन अघिमात्र एसियाड छनोट प्रतियोगिता खेल्न काठमाडौँ आउनुभएको थियो । उहाँ एसियाडका लागि प्रारम्भिक छनोटमा  पर्नुभएको थियो ।