• २२ भदौ २०८१, शनिबार

गाउँ-गाउँमा सडक कालोपत्रे गर्दै बन्दीपुर गाउँपालिका

blog

बन्दीपुर गाउँपालिका–२ मा निर्माण पुरा भएको कालोपत्रे सडक । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २२ गते ।
 पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउन तनहुँको एक पालिकामा सडक कालोपत्रे प्राथमिकतामा परेको छ ।  बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षलाई सडक कालोपत्रेलाई प्राथमिकता दिएको हो ।

सङ्घीय, गण्डकी प्रदेश र स्थानीय गरी तीन वटै तहबाट विनियोजित बजेटमा सडक कालोपत्रेमा प्राथमिकतामा परेका हुन् । चालु आर्थिक वर्षमा करिब २४ करोड रुपियाँ बजेट सडक कालोपत्रेमा खर्च गर्ने गरी बजेट व्यवस्थापन गरिएको  गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार गाउँपालिकाको ७ करोड रुपियाँ बजेट रहेको छ । वडामा ५० लाखभन्दा माथिका बजेट कालोपत्रेका लागि रहेको छ ।

सहरी विकास आयोजनाको आठ करोड, सङ्घीय सरकारको पाँच करोड, गण्डकी प्रदेश दुई करोड र सडक डिभिजनको दुई करोड रुपियाँ बजेट रहेको छ । गाउँपालिकाको बेलभञ्ज्याङदेखि बानियाँटार सडक कालोपत्रेका लागि एक करोड बजेट विनियोजन भएकाले टेण्डरको प्रक्रियामा रहेको छ ।

यसैगरी, रिमाल्नी–भुडेटार सडकका लागि ५० लाख विनियोजन भएको छ । बन्दीपुरको रिङरोड क्षेत्रमा कालोपत्रे गरिनुका साथै याम्पादेखि थुम्का सडकको बिच भागमा करिब पाँच सय मिटर सडक ढलान गरिनेछ ।

यसैगरी बन्दीपुरको तीनधारेबाट बाहुनभञ्ज्याङसम्म दुई करोड बजेटमा सडक कालोपत्रे गरिने छ । यसको करिब दुई किलोमिटर दूरी रहेको छ ।

अघिल्लो वर्ष दुई करोड बजेटमा ग्रावेल, कटिङ र नाला निर्माण कार्य गरिएको थियो । यसवर्ष बन्दीपुर वडा नं ४ र ५ को वडा कार्यालय जोडिनेछ ।

त्यसैगरी साराङघाटबाट ढाडखोला र साँदभञ्ज्याङबाट घमलछापसम्म सडक कालोपत्रेका लागि दुई करोड बजेट विनियोजन गरिएको छ । बन्दीपुर ढाड खोलाका लागि साढे तीन करोड बजेट विनियोजन गरिएको छ । उक्त बजेटमध्ये दुई करोडको सडक कालोपत्रे गरिने छ भने डेढ करोड बजेटबाट ढाडखोलाबाट बुद्धसिंमार्ग जोड्ने सडक स्तरोन्नति कार्य गरिनेछ । 

चालु आवमा सेराटार–सुखौरा र सेराटार–रामकोट जोड्ने सडकमा  समेत कालोपत्रे गर्ने योजना रहेको छ । गाउँपालिकाले सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । गत वर्ष करिब २० किलोमिटर कालोपत्रे गरिएको थियो । कालोपत्रेले यात्राको समय छोटिएको छ  भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषिउपज ढुवानी गर्न सहज भएको छ  ।

अध्यक्ष थापाले भन्नुभयो, “वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका सडक कालोपत्रे र पिसिसी गरेर यात्रा सजिलो बनाएका छौँ ।” गाउँपालिकाभित्रका सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै बन्दीपुर गाउँपालिकाको रूप फेरिन थालेको छ  । अध्यक्ष थापाले बन्दीपुर बजारमा केन्द्रित रहेको पर्यटनलाई गाउँ गाउँसम्म विस्तार गर्न सडक स्तरोन्नति तथा कालोपत्रेलाई प्राथमिकता दिएको बताउनुभयो ।