• १६ चैत २०८०, शुक्रबार

राउटे जातिमा परेन निर्वाचनकाे प्रभाव, सधैँ हुन्छ जनजीविकाकाे अभाव (फाेटाे फिचरसहित)

blog

छेडागाड नगरपालिका ५ थलह, जाजरकोटमा बस्दै आएका राउटे समुदाय । तस्बिर- प्रतीक इच्छुक शर्मा जाजरकोटबाट फर्किएपछि ।

प्रतीक इच्छुक शर्मा

सल्यान, वैशाख २६ गते । देश निर्वाचनमय बनेको बेला नेपालको लोपोन्मुख राउटे जातिलाई यसको कुनै प्रभाव परेको छैन । दैनिकी गुजारा चलाउन सँधै धौधौ हुने यो जातिसँग भोट हाल्ने कुनै कानुनी प्रमाण छैन ।

‘जङ्गलको राजा’ भनेर चिनाउन गर्व गर्ने यो जातिसँग जन्मदर्ता प्रमाणपत्र, नागरिकता र मतदाता परिचयपत्र छैन । फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायसँ दैलेखको गुराँस गाउँपालिकाले २०७५ असार ३० गते प्रदान गरेको परिचयपत्रबाहेक अन्य कुनै सरकारी कागजात छैन ।  


यो समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान र जाजरकोटलगायत जिल्लाका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आइरहेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले १४५ जना सङ्ख्या रहेको बताउनुभयो । उहाँका अनुसार राउटे समुदायको आफ्नै व्यवस्था भएकाले आफूहरुले आफ्नो नेता आफ्नै चुन्ने गरेका छन् ।


दैलेखको गुराँस गाउँपालिकाबाट परिचयपत्र प्राप्त गरेका राउटे यसपटकको जनगणनामा भने समेटिएका छन् । सल्यानको जिल्ला जनगणना कार्यालयबाट उहाँहरु गणनामा समेटिएका हुन् । संविधानको प्रस्तावनामै बालिग मताधिकारप्रति प्रतिबद्धता जनाइए पनि राउटे समुदायले यो अधिकारबाट वञ्चित हुँदै आएका छन् ।  

 लामो समय सल्यानको वनगाड कुपिण्डे नगरपालिका देवस्थल बसाइँ सरेका यो जाति केही दिन अघि मात्र छेडागाड नगरपालिका ५ थलह, जाजरकोट पुगेका छन् । 


राउटे लोकेन्द्र शाहीले स्थानीय तहको चुनाव आएको र भोट हाल्नुपर्छ भनेर पनि थाहा भएको बताउनुभयो । उहाँले समाजमा के के हुँदैछ, सबैकुरा थाहा हुन्छ र आफ्नै तरिकाले व्यवस्थापन गर्ने कुरा बताउनुभयो ।

स्थानीय तह निर्वाचनका कारण राउटे बस्तीमा खाद्यान्न र लत्ता कपडाको अभाव भएको छ । सरकारी व्यक्तिलाई आफूहरुले फोन गर्दा स्थानीय चुनावपछि मात्रै काम हुने भनेको राउटे समुदायका व्यक्तिहरु बताउँछन् । आवश्यक खाद्यान्न, लत्ता कपडा र त्रिपालको अभाव छ । चुनावले आफूहरुलाई समस्यामा पारेको यिनीहरु बताउँछन् ।


राउटे समुदाय अहिले पनि आधुनिक समाजको मुल प्रवाहमा आउन सकेका छैनन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले राउटेको स्वास्थ्यमा आउने समस्या समाधान गर्न स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ ।  

स्वास्थ्यकर्मी लोकेन्द्र शाहीले घुमन्ते जीवन बिताउने भएका कारण व्यक्तिगत तथा सामुदायिक सरसफाइसम्बन्धी ज्ञानको कमी भएको बताउनुभयो । उहाँका अनुसार राउटेमा समुदायमा उच्च जन्मदर र मृत्युदर, कुपोषणजस्ता स्वास्थ्य समस्या झेलिरहेका छन् । बिरामी हुँदा पनि यो समाजका व्यक्तिहरु उपचार गराउन मान्दैनन् ।