• १ भदौ २०८१, शनिबार

मातृ तथा शिशु मृत्युदरमा कमी

blog

सदरमुकाम फुङ्लिङस्थित स्वास्थ्य कार्यालय ताप्लेजुङ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १ गते। ताप्लेजुङमा पछिल्लो समय मातृ तथा नवजात शिशुको मृत्यु दरमा कमी हुन थालेको छ। स्वास्थ्य शिक्षासम्बन्धी सर्वसाधारणमा चेतना अभिवृद्धि हुनुका साथै स्वास्थ्य संस्थाको पहुँच विस्तारको क्रमले मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आउन थालेको पाइएको हो।

मातृ तथा नवजात शिशु मृत्यु दरमा कमी आउनु स्वास्थ्य क्षेत्रका लागि सकारात्मक सन्देश भएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मातृ मृत्युको सङ्ख्या शून्य रहेको छ। 

गत आवमा आठजना नवजात शिशुको भने मृत्यु भएको दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार आठमध्ये छ जना नवजात शिशुको स्वास्थ्य संस्था बाहिर र दुई जनाको स्वास्थ्य संस्थामै मृत्यु भएको हो। यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा गर्भावस्थामा एक र प्रसूतिको क्रममा तीन गरी चारजना मातृ (आमा) को मृत्यु भएको थियो। उहाँहरु चारैजना आमाको स्वास्थ्य संस्था बाहिर ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ। 

अघिल्लो आवमा ११ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य संस्थाबाहिर १० जना र स्वास्थ्य संस्थामा एकजना नवजात शिशुको मृत्यु भएको हो। 

गर्भवती रहेको अवस्थामा नियमित गर्भ जाँचको अभाव, शारीरिक असुरक्षा, स्वास्थ्यकर्मीको नियमित परामर्शको अभाव साथै प्रसूति सेवा प्राप्त गर्नलाई स्वास्थ्य संस्था नजानुलाई मातृ तथा शिशुको मृत्यु हुने कारणको रूपमा औँल्याउने गरिएको छ।