• १० मंसिर २०८१, सोमबार

नाटकमा सामाजिक आन्दोलन

blog

काठमाडौँ, साउन २२ गते । नेपाली रङ्गमञ्चमा पछिल्लो समय मञ्चनको उभार आएको छ । २०६२/६३ पछिको जातीय, भाषिक र सांस्कृतिक जागरणले नेपाली रङ्गमञ्चसमेत ऊर्जामय बनेको पाइन्छ । रङ्गमञ्चमा पछिल्ला समय मञ्चन भएका नाटकका विषयवस्तु नियाल्दा यिनै तथ्य भेटिन्छ ।

गत वर्ष मण्डला थिएटरमा तामाङ समुदायको कथावस्तुमा आधारित नाटक ‘मासिन्या’ निकै चर्चित रह्यो । सो नाटकलाई चलचित्रकर्मी बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गर्नुभएको थियो । गत वर्ष इँगिहोपो कोइँच सुनुवारको निर्देशनमा नाटक ‘दमिनी भिर’ मञ्चन भएको थियो । यी दुई नाटकले दर्शक, राम्रो चर्चा सँगसँगै आम्दानी पनि बटुल्न सफल भएका थिए ।  

यस वर्ष मण्डलामा किराँत समुदायको मुन्धुम वर्णित मान्छेको कथामा आधारित राजन मुकारुङ लिखित तथा किरण चामलिङ राई निर्देशित नाटक ‘बाखाम्मा’ र अनिल सुब्बा निर्देशित नाटक ‘मेषी दण्ड’ मञ्चन भयो । यी नाटकले पनि दर्शक, दाम र नाम कमाउन सफल देखिए । यी केही तथ्यले प्रस्ट हुन्छ कि काठमाडौँका रङ्गमञ्चमा जनजातिको कथा बिक्न थालेको छ । गत वर्ष मण्डलामा १९ नाटक मण्चन भए जसमा ‘दमिनी भिर’, ‘मासिन्या’ ले अन्य नाटकको तुलनामा दर्शकको राम्रो साथ पाएको थियो । यस वर्ष भने ‘बाखाम्मा’ र ‘मेषी दण्ड’ जातीय समुदायको नाटक भएर पनि दर्शकले धेरै रुचाएका थिए । 

रङ्गमञ्चमा आदिवासी जनजाति समुदाएका कथावस्तुले स्थान र लोकप्रियता पाउन थालेका छन् । दर्शकले फरक स्वादका नाटक रुचाउने हुनाले मगर, लिम्बू, राई, गुरुङ, तामाङ समुदायले गरेका राजनीतिक, सामाजिक, भाषिक सङ्घर्षका कथालाई रङ्गकर्मीले प्राथमिकता दिन थालेको पाइन्छ । 

कुनै समय नेपाली रङ्गमञ्च उर्दू, हिन्दी तथा अन्य विदेशी नाटक अनुवाद गरेर मञ्चन गर्ने गरिन्थ्यो । नेपाली नाटकको अभावमा भन्दा पनि विदेशी नाटकसँगै प्रायोजनसमेत आउने भएकाले त्यस्ता धेरै नाटक नेपाली रङ्गमञ्चमा देखाइए । अहिले समय बदलिएको छ । रङ्गकर्मी तथा मण्डला थिएटरका कार्यसमिति सदस्य सोमनाथ खनालले अहिले रङ्गमञ्चमा नाटक प्रदर्शन गर्न आफ्नै भाषाका मौलिक नाटक सिर्जना भइरहेको बताउनुभयो । उहाँले नाटकघरमा जनजाति समुदायका नाटकले मात्र बहुल्य पायो भन्ने कुरा गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा जातीय समुदाय मात्रभन्दा पनि नयाँ मौलिक कथा आउन थाल्यो । समाजमा मौलिक कथाको खोजी जहिले पनि भइरहने हुनाले पनि यस्तो भएको हो ।”

उहाँका अनुसार दर्शकले नाटकभित्र आफ्नो कथा खोज्ने भएको हुनाले पनि जातीय कथा बोकेका नाटक धेरै चलेको हुन सक्छ । शिल्पी थिएटरका संस्थापक तथा रङ्गकर्मी घिमिरे युवराजका अनुसार जातीय समुदायका नाटक मात्र होइन अहिले विभिन्न प्रतिष्ठानमा नै जनजातिको सङ्ख्या बढी छ । यो अहिले मात्र होइन रङ्गमञ्चमा जातीय समुदायको नाटक मञ्चन हुन थालेको नाटक ‘लाटो पहाड’ देखिकै हो । त्यसपछि ‘जोखाना’, ‘खुवालुङ’ मञ्चन भए । लाटो पहाडले पूर्वी पहाडको कथा बोकेको र पूर्वी पहाडकै कथा अहिले आउन थालेको उहाँ बताउनुहुन्छ । लेखक, कवि पनि पूर्वी पहाडकै धेरै छन् । मैथिली समुदायको नाटक ‘सखी’ मञ्चन भएको थियो तर जातीय समुदायको नाटकको तुलनामा यसले खासै दर्शकको साथ पाएन । यो सबै समुदायमा पहुँच बलियो हुनुको कारणले पनि हो । यो वर्ष शिल्पी थिएटरमा जम्माजम्मी गरेर १० वटा नाटक मञ्चन भएको उहाँको भनाइ छ । 

नाचघरको प्रशासन प्रमुख पवित्रा पङ्गेनीका अनुसार अघिल्लो वर्ष राष्ट्रिय नाचघरमा १० वटा नाटन मञ्चन भएका थिए । यस वर्ष छ वटा नाटक मञ्चन भए । अघिल्लो वर्ष जनजाति समुदायका नाटक खासै मञ्चन भएनन् । यो वर्ष ‘नाम्गेलको गाउँ’ र लघुनाटक ‘बलबहु’ मात्र मञ्चन भए । 

रङ्गकर्मी आकाङ्क्षा कार्कीका अनुसार गत वर्षको जेठदेखि यस वर्षको असारसम्ममा आठ वटा नाटक कौसी थिएटरमा मञ्चन भए । उहाँले भन्नुभयो, “जोखना, खुवालुङ नाटक बनेका समय जनजाति समुदायको नाटकको आवश्यकता पनि थियो तर अब अहिले के भइरहेको मैले धेरै भन्नु जरुरी देख्दिनँ यसमा खासै म बोल्न पनि चाहन्नँ ।” 

नाटक ‘बाखाम्मा’ निर्देशक किरण चामलिङ राईको भनाइ केही भिन्न छ । उहाँका अनुसार एउटा जातीय समुदायको कथा थिएटरमा देखाउनु राम्रो कुरा हो । विगतलाई सम्झने हो भने विगतमा यति पनि मञ्चन भएका थिएनन् । उहाँले थप्नुभयो, “यो आदिवासी जनजातिभन्दा पनि आआफ्नो समुदायले आफ्नो कथा, पहिचान भन्नु पर्छ भनेर सुरु भएको हो ।” उहाँले भन्नुभयो, “यसमा पनि आफ्नो समुदायको मुद्दा उठाएका हौँ, जसलाई हरेक समुदायले बुझ्छ जस्तो मलाई लाग्छ । गुरुङ, राई, लिम्बू, तामाङलगायत जनजातिका कथा मञ्चन गर्दा अन्य कलाकार हामीले नाटक गर्नु पर्छ भन्ने उत्प्रेरणा भएको छ ।”