• ३१ भदौ २०८२, मङ्गलबार

आन्दोलनको प्रभावमा कला क्षेत्र

blog

काठमाडौँ, भदौ ३१ गते । नेपालमा भ्रष्टाचारविरुद्ध सुरु भएको युवापुस्ता (जेनजी) आन्दोलनको प्रदर्शनले कला क्षेत्रलाई पनि असर पारेको छ । कलाकर्मी अलमलमा छन् । कोभिडले थला पारेको कला क्षेत्र उठ्ने बाटोतिर लम्कँदै गरेको समयमा जेनजी आन्दोलनका कारण फेरि पछाडि परेको छ ।

आन्दोलनले तहसनहस भएको भौतिक संरचनाले गर्दा कला क्षेत्र माथि उठ्न अझ केही समय लाग्ले कलाकर्मी बताउँछन् । दसैँको छेकोमा भएको आन्दोलनको प्रभावले चलचित्र, रङ्गमञ्च र चित्रकलामा ठुलै धक्का लागेको छ ।

रङ्गमञ्च फेरि सुस्ताएको छ । केही नाटक मञ्चन रोकिएका छन् । थापागाउँस्थित मण्डला थिएटरमा भदौ १९ देखि मणि के राई निर्देशित नाटक ‘खमारी’ (मौन संवाद) मञ्चन भइरहेको थियो तर आन्दोलनका कारण नाटक भदौ २९ सम्म मञ्चन हुन सकेन । यसै गरी निर्देशक मुक्तिप्रसाद पौडेल र प्रवीण पौडेलको निर्देशनमा टेकुस्थित कौसी थिएटरमा भदौ १२ देखि नाटक ‘काली पार’ मञ्चन भइरहेको थियो । नाटक असोज ४ सम्म मञ्चन हुने जनाइए पनि आन्दोलनका कारण नाटकलाई स्थगन गरियो । मण्डला थिएटरमै भदौ ११ देखि नाटक ‘सिरुमारानी’ सुरु भएको थियो तर आन्दोलनको डरत्रासले नाटक मञ्चन रोकियो । यी तीन वटै नाटक फेरि मञ्चन हुने तरखरमा छन् तर नाटकलाई फेरि पुरानै लयमा फर्काउन कति सम्भव होला भन्ने सबैको चासोको विषय बनेको छ ।   

नाटक ‘सिरुमारानी’ का निर्देशक अनुप न्यौपानेका अनुसार नाटक रोकिँदा घाटा अवश्य नै हुन्छ । नाटक मञ्चन रोकिँदा करिब सात लाख रुपियाँ घाटा भएको उहाँको भनाइ थियो । उहाँका अनुसार नाटक फेरि मञ्चन हुने बारे भन्न सक्ने अवस्था छैन ।

न्यौपानेले थप्नुभयो, “दसैँअघि एउटा सो गरौँ कि भन्ने सोचेको त छु तर टुङ्गो लागेको छैन । उहाँले बिचमा चाडपर्व भएकाले सोपछि सबै कुरा सामान्य लयमा फर्कने अपेक्षा गर्नुभयो ।

चित्रकला भनेको समाजमा कलाकारले जे देखेका हुन्छन् त्यही कोर्ने हो । १० वर्ष जनयुद्धका बेला युद्धसँग सम्बन्धित विषयका कला बढी हुन्थे । अहिले समाज, संस्कृति र पर्यटनका विषयमा बढी चित्र प्रदर्शन हुन्छन् । जेनजी आन्दोलनका कारण कलाको स्वरूप फेरि परिवर्तन हुने हो कि भन्नेमा कलाकर्मीको चिन्ता छ । आन्दोलनका कारण आर्ट ग्यालरीमा भइरहेका प्रदर्शनी रोकिएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी, अरूपण आर्ट ग्यालरी, तारागाउँ सङ्ग्रहालयलगायतले आन्दोलनका कारण आफ्ना सबै कला प्रदर्शनीलाई स्थगित गर्नु परेको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यका अनुसार कला आफैँ सिर्जना हुने विषय हो । कलालाई मलजल गर्ने छुट्टै निकाय हुन्छ जुन भनेको राज्य, लगानीकर्ता र दाता हुन् । जुन अहिले तहसनहसको अवस्थामा छ । उहाँले भन्नुभयो, “कतिपयले यही पीडाका कुरालाई लिएर आफ्ना सिर्जना कोरिरहेका होलान् ।” अब कलाको प्रचार गर्ने कुरामा भने यो निश्चय नै पछाडि परेको उहाँले बताउनुभयो । 

कलाकार संवेदनशील हुन्छन्, सिर्जना गरिरहेका हुन्छन् । उहाँले थप्नुभयो, “कलाकारले दुःखको बेला दुःखलाई र सुखलाई आफ्नो कलामार्फत प्रस्तुति दिने होलान् । जतिसुकै बाधा अड्चन आए पनि कलाकारको सिर्जना नरोकिने बताउनुभयो ।”

सोमबारबाट सिनेमा हल सञ्चालनमा आएका छन् । यद्यपि दर्शकलाई हलसम्म तान्ने वातावरण देखिँदैन । प्रदर्शन भइरहेका चलचित्र बिचमै रोकिनु र केही चलचित्रको प्रदर्शन मिति नै अनिश्चित हुनाले पनि चलचित्र क्षेत्रमा कति असर पर्ने हो त्यो अनुमान लगाउन सकिन्न । प्रदर्शनमा ‘रिमै’, ‘गुन्यो चोलो’, ‘कोसेढुङ्गा’, ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘मोहर’ थिए । भदौ २७ गते प्रदर्शन हुने भनिएको ‘अभिमन्यु : च्याप्टर वान’ रोकियो । असोज ३ ‘जारी २’ प्रदर्शन नहुने भएको छ ।  

चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार चलचित्र क्षेत्र पुरानै लयमा फर्कन समय लाग्छ । उहाँले भन्नुभयो, “हल खुले पनि पहिला जस्तो नहोला । देश शोकमा छ । मान्छे अस्तव्यस्त छन् । चाडबाडको मुखमा यत्रो काण्ड भएको छ । त्यसैले पहिला देशले निकास पाओस् त्यसपछि चलचित्र क्षेत्रले पनि अवश्य निकास पाउँछ ।”