• २९ असोज २०८२, बुधबार

छ करोड लगानीको भ्यु टावर ओझेलमा

blog

चापाकोट नगरपालिका–१०, बायोडाँडामा निर्मित भ्यु टावर । तस्बिर : अर्जुन काफ्ले

स्याङ्जा समाचारदाता 

स्याङ्जा, असोज २९ गते । स्याङ्जाको चापाकोट नगरपालिका–१०, बायोडाँडामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको भ्यु टावर ओझेलमा परेको छ । नगरपालिकाले छ वर्ष लगाएर निमार्ण गरेको भ्यु टावरको उचित प्रचारप्रसार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक त्यहाँसम्म पुग्न नसकेका हुन् । विसं २०७३ मा सुरु गरेर २०७८ मा छ करोड रुपियाँको लागतमा सो भ्यु टावर निर्माण भएको हो । ४५ फिट अग्लो टावरमा लगानी अनुसार पर्यटक नपुग्दा सरकारको लगानी बालुवामा पानी बनेको हो । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको भ्यु टावर पछिल्लो समय सुनसान बनेको छ । टावरबाट देखिने दृश्य र टावरको सतहबाटै देखिने दृश्यमा कुनै भिन्नता नभएको बताउँदै स्थानीय विनोद भण्डारीले भ्यु टावरसम्म पुग्ने सडकसमेत सहज नहुनु तथा झाडीले ढाकिएको बाटो भएकाले पर्यटकको कमी भएको बताउनुभयो । तारबार लगाएर टावरलाई व्यवस्थित बनाए पनि आसपासमा पर्यटकलाई आकर्षित गर्ने थप संरचना नहुनुले सुनसान बनेको हो । 

यसको आकर्षण बढाउन विभिन्न कार्यक्रम गर्ने प्रयास थालेको चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाँणले बताउनुभयो । उहाँले अहिले पर्यटक क्लब, आमा समूह र समाजसेवीलाई परिचालन गरेर भ्यु टावरको प्रवर्धन, सचेतना तथा प्रचारप्रसार भएको बताउनुभयो  । पर्यटन प्रवर्धनका लागि संरचना निर्माण गरेर त्यसको दीर्घकालीन उपयोग, व्यवस्थापन, नहुँदा सुनसान बनेको ठाउँको प्रवर्धन गर्न सरोकारवाला निकायले ध्यान दिने हो भने आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयको भनाइ छ ।