गुणबहादुर रोका
सुलीकोट, असोज २९ गते । गोरखाको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको बारपाक सुलिकोट गाउँपालिका पछिल्ला वर्षमा कृषि क्षेत्रबाट पनि पहिचान बनाउन थालेको छ । गाउँपालिकाको वडा नं. १ का कृषक चन्द्रबहादुर घले अहिले किवी खेतीका कारण स्थानीय र आसपासका क्षेत्रमा उदाहरण बन्नुभएको छ ।
करिब आठ वर्षअघि परम्परागत बाली खेतीबाट खासै आम्दानी नहुने देखेपछि घलेले नयाँ विकल्पको खोजी सुरु गर्दै उहाँले आफ्नो साथीमार्फत पहिलोपटक ‘किवी’ फलको बारेमा बुझ्नुभएको थियो, उच्च चिसो हावापानी, ढिस्को जमिन र अर्गानिक उत्पादनका लागि उपयुक्त हुने फल भनेपछि २०७६ सालमा उहाँले बजारबाट प्रति बिरुवा २५० रुपियाँका दरले सयभन्दा बढी बिरुवा खरिद गरी आफ्नै खेतमा रोप्नुभएको थियो ।
“सुरुमा धेरैलाई लाग्थ्यो, यो परदेशी फल हाम्रो गाउँमा हुन्न होला,” घले सम्झिनुहुन्छ, “तर अब गाउँकै माटोले यसको सम्भावना प्रमाणित गरिदिएको छ ।”
रोपिएको तीन वर्षपछि बोटले पहिलोपटक फल दिन सुरु गर्यो । अहिले ती बोटहरू परिपक्व भएर नियमित रूपमा उत्पादन दिइरहेका छन् । घलेका अनुसार अहिले वार्षिक करिब १० क्विन्टल किवी उत्पादन हुने गर्छ ।
किवी गाउँमै प्रतिकिलो तीन सय रुपियाँमा सजिलै बिक्री हुन्छ । बजारसम्म लैजानु नपर्ने, ग्राहक स्वयं घरमै आएर फल किन्न पुग्ने गरेको घले बताउनुहुन्छ । “कसैले कोसेलीका रूपमा काठमाडौँ पठाउँछन्, कसैले स्वास्थ्यका लागि नियमित रूपमा किन्न आउँछन्,” उहाँले भन्नुभयो ।
असिना पानी र हुरीबतासबाट जोगियो भने, एक वर्षमा करिब तीन लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
बारपाक क्षेत्रको चिसो मौसम र प्राकृतिक मल प्रयोगका कारण यहाँको किवी पूर्ण अर्गानिक मानिन्छ । रासायनिक मल र विषादीको प्रयोग नगरी उत्पादन हुने भएकाले उपभोक्तामा यसको माग बढ्दो छ ।
“हाम्रो उत्पादनको स्वाद नै फरक छ, किनभने माटो र पानी शुद्ध छन्,” घले बताउनु हुन्छ्, “गाउँमा आउने पाहुनाले स्वाद लिएपछि बारम्बार माग बढ्दै गएको छ ।”
घलेको सफलताले गाउँका अन्य किसान पनि प्रेरित भएका छन् । यही उत्साहका कारण गाउँपालिका वडा नं. १ र २ ले हालसम्म तीन हजारभन्दा बढी किवी बिरुवा अनुदानमा वितरण गरेको वडा अध्यक्ष धनबहादुर घलेले बताउनुभयो ।
उहाँका अनुसार, “हामी बारपाकलाई आगामी केही वर्षभित्र ८८ ‘किवी पकेट क्षेत्र’ ८८ का रूपमा विकास गर्ने लक्ष्यमा छौं । किसानले अब मौसमी तरकारी मात्र होइन, उच्च मूल्यका नगदे बालीमा पनि ध्यान दिन थालेका छन् ।”
स्थानीय कृषकहरूले देखाएको चासो र सरकारी सहयोग निरन्तर रहँदा बारपाक क्षेत्रमा किवी खेतीले ठुला परिवर्तन ल्याउने विश्वास लिइएको छ । यो खेतीले न केवल किसानको आय बढाउनेछ, बरु गाउँको पहिचानलाई पनि नयाँ रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ ।
कृषि विशेषज्ञहरूको भनाइमा, बारपाक क्षेत्रको जलवायु र भौगोलिक बनोट किवी खेतीका लागि अत्यन्त उपयुक्त छ । उचित प्रविधि, प्रशोधन केन्द्र र बजार व्यवस्थापनको पहल गरियो भने यहाँको किवी राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छ ।
किवी खेतीबाट प्राप्त आम्दानीले गाउँमा रोजगारी सिर्जना हुन थालेको छ । युवाहरूले वैदेशिक रोजगारीको विकल्पका रूपमा गाउँमै कृषिमा लगानी बढाउँदै छन् । अर्गानिक खेती र पर्यावरणमैत्री उत्पादनले बारपाकलाई ‘हरित गाउँ’ बनाउने सम्भावना प्रष्ट देखिन थालेको छ ।
घलेले भन्नुभयो, “हामी अब केवल उपभोक्ता होइन, उत्पादनकर्ता र उद्यमी पनि हौं ।” सामान्य लगानी, मिहिनेत र सहकार्यको नमुनाबाट सुरु भएको किवी खेतीले आज बारपाकमा नयाँ आशा जगाएको छ ।