• ११ मंसिर २०८१, मङ्गलबार

बाघ संरक्षणमा सहअस्तित्वको खाँचो

blog

काठमाडौँ, साउन २० गते । पाटेबाघ ‘जङ्गलको राजा’ हो तर मानव अतिक्रमणले बाघ मात्र हैन मानिसको जीवन नै सङ्कटमा पर्न थालेको छ । अहिले बाघ जङ्गलमा मात्र सीमित छैनन्, धमाधम बस्ती छिर्न थालेका छन् । 

बाघले मानिस मार्न थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ देखि यताको पाँच वर्षमा २१४ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मात्र ६९ जनाको ज्यान गएको विभागका महानिर्देशक सिन्धुप्रसाद ढुङ्गाना बताउनुहुन्छ । दुई दिनअघि मात्र कञ्चनपुरमा मान्छे खान पल्केको बाघले एक महिलाको ज्यान लिएको घटना सेलाएको छैन । उक्त बाघलाई तत्कालै निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । आफ्नो अस्तित्व जोगाउन घरी मान्छेले बाघ मार्ने र घरी बाघले मान्छे मार्ने कार्य चुनौतीका रूपमा देखिएको उहाँ औँल्याउनुहुन्छ । 

त्यसैले बाघ र मानिस दुवै एकअर्काबाट जोगिन सहअस्तित्वको अवधारणामा अघि बढ्नुपर्नेमा विज्ञहरूको जोड छ । बाघविज्ञ डा. चिरञ्जीवी पोखरेलका अनुसार बासस्थानको क्षति, सिकारी र मानव र वन्यजन्तु द्वन्द्वका कारण नेपालमा पाटेबाघ उच्च जोखिममा छन् । उहाँ भन्नुहुन्छ, “हालसम्मका परम्परागत संरक्षण विधिले बाघको संरक्षणका लागि जग बसालेको छ तर आधुनिक संसारका जटिल चुनौतीलाई सम्बोधन गर्न अब नयाँ रणनीतिको टड्कारो आवश्यकता छ ।”

उहाँका अनुसार नेपालमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । सन् २०१० मा १२१ वटामा सीमित बाघको सङ्ख्या तीन गुणा बढेर सन् २०२२ सम्ममा ३५५ वटा पुगेको छ । यससँगै नेपालले २०१० मा दस वर्षभित्र बाघको सङ्ख्या दोब्बर बनाउने देशको प्रतिबद्धता पूरा भएको छ । 

यो उपलब्धिसँगै नयाँ चुनौती पनि थपिएको विज्ञ पोखरेल औँल्याउनु हुन्छ । बाघको निरन्तर अस्तित्व जोगाउन नयाँ ढङ्गले सम्बोधन गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । उहाँका अनुसार मानव वन्यजन्तु द्वन्द्व, बासस्थान खण्डीकरण, चोरीसिकारी र अवैध व्यापार, जलवायु परिवर्तन र स्रोत साधनको कमीलगायतका चुनौती बढेका छन् । 

उहाँले थप्नुभयो, “मानव र वन्यजन्तु द्वन्द्व मानव र बाघ सहअस्तित्वको प्रमुख चुनौतीमध्ये एक हो, पृथ्वी र यहाँका प्राकृतिक स्रोतको उपभोगका लागि दुवैको प्रतिस्पर्धा प्रमुख मुद्दा बनेको छ ।” वनक्षेत्र कृषि र मानव बस्तीका लागि धमाधम खाली हुँदै छन् । यसर्थ पनि बाघ आफ्नो बासस्थान गुमाउँदै मानव बस्तीनजिक आउन बाध्य भएका छन् । मानिसको जनसङ्ख्या बढ्दै जाँदा जङ्गल क्षेत्र साँघुरिँदै गएको छ । यसले मानिस र बाघको बासस्थानबिचको सिमाना मेटिँदै गएको छ । गाउँ, कृषि क्षेत्र र चरन क्षेत्रले बाघको बासस्थान ओगट्दै छ । जसले गर्दा मानिससँगको जम्काभेट र द्वन्द्व बढाउँछ । नेपालमा बाघले वार्षिक १० भन्दा बढी मानिसलाई आक्रमण गर्ने गरेको छ । प्रतिवर्ष दुई दर्जनभन्दा बढी पशुधनको विनाश भएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनको मार बाघ संरक्षणमा पर्दै छ । बढ्दो तापक्रम र वर्षा हुने क्रममा आएकोे परिवर्तनले बाघको बासस्थानको गुणस्तरमा परिवर्तन ल्याउन थालेको टिप्पणी पोखरेल गर्नुहुन्छ ।