• ९ वैशाख २०८२, मङ्गलबार

काभ्रेस्थली हुँदै जान थाल्यो फोहोर

blog

सरोज आचार्य

काठमाडौँ, वैशाख २२ गते । काठमाडौँ उपत्यकाको फोहोर सिसडोल पु-याउन फोहोर व्यवस्थापन गर्ने मजदुरले काभ्रेस्थली मार्गबाट फोहोर सिसडोल लैजान थालेका छन् । मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म ८० कन्टेनर फोहोर काभ्रेस्थली भएर सिसडोल लगिएको छ । फोहोर १० दिनदेखि उठ्न सकेको थिएन । 

सहरका केही भाग अहिले सफा भएको छ । वर्षा र सिसडोलका स्थानीयको सङ्घर्षको दोहोरो समस्याका कारण काठमाडौँ महानगरपालिकाका सडकमा थुप्रिएका फोहोर सिसडोल डम्पिङ साइट लैजाने कार्य अरू अनिश्चितजस्तै थियो । फोहोर व्यवस्थापन गर्ने मजदुरले काभ्रेस्थलीको बाटो प्रयोग गरे, काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई भन्नुहुन्छ । काभ्रेस्थलीको यो बाटोमा कुनै अवरोध छैन ।सिसडोल पुग्ने पासाङ ल्हामु राजमार्गअन्तर्गत तिनपिप्ले–छहरे–मुड्खु सडक खण्ड कालोपत्रे गर्ने कार्य वर्षाका कारण रोकिने सम्भावना भने छ । त्यस्तै यो सडक खण्डमा बाटो मर्मत भएन भनेर भइरहेको सङ्घर्ष पनि टुङ्गोमा पुग्न सक्ने अवस्था छैन । 

राजमार्ग मर्मतको माग गर्दै सङ्घर्षरत समितिबीच सरकारी निकायको सहमति भए पनि यो कार्यको थालनी नै हुन सकेको छैन ।वातावरण विभाग प्रमुख सरिता राईका अनुसार दिउँसो बाटो मर्मत गर्ने र बिहान २ देखि ८ बजे बीचसम्म फोहोर सिसडोल पु-याउने सहमति भएको थियो तर स्थानीय प्रशासनको र प्रहरीको सहयोग पाउन सकिएको छैन । 

मजदुरहरूले काभ्रेस्थलीको बाटो प्रयोग गरेका छन् । राईका अनुसार यी दुई स्थानीय प्रशासनको सहयोग मागिएको थियो, अहिले पनि सहयोग मागिएको छ तर नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले फोहोर व्यवस्थापनका लागि कतैबाट पनि प्रहरीको सहयोग नमागिएको स्पष्ट गर्नुभयो । बाटो मर्मतको माग गर्दै सङ्घर्षरत स्थानीय समितिले माग पूरा नहुञ्जेल सिसडोलमा फोहोर लैजान नदिने गरी राजमार्गमा अवरोध गरेका कारण वैशाख ११ गतेदेखि काठमाडौँका सहरका बाटोघाटोमा थुपारिएका  फोहोर उठाउन सकिएको थिएन ।

काठमाडौँ महानगरपालिकाबाट सरदर दैनिक ५४५ मेट्रिक टन फोहोर सिसडोल लैजाने गरिएको छ । काठमाडौँबाहेक आसपासका महानगर क्षेत्रबाट एक हजार दुई सय मेट्रिक टन अलग्गै फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । निजी क्षेत्रका दुई सय र महानगरपालिकाको बीस कन्टेनर दिनहुँ सिसडोलमा फोहोर व्यवस्थापनका लागि पुग्ने गरेका थिए । महानगरपालिका नगर प्रहरी बल प्रमुख धनपति सापकोटाका अनुसार काठमाडौँ महानगरपालिकाको प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित ¥यापिड एक्सन टास्क फोर्स हाल फोहोर व्यवस्थापनमा सक्रिय रहेको छ ।

२०७८ फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेर फोहोर व्यवस्थापनका विषयमा अध्ययन थालेको थियो तर यो सक्रिय हुन सकेको छैन । फोहोर व्यवस्थापनमा लागेको बी एन्ड पी क्लिनिङ सर्भिसका इन्चार्ज बुद्व मगरका अनुसार भरिसक्य घरघरका फोहोरसम्म उठाएर टेकुमा व्यवस्थापन गर्न सकिएको छ । टेकुमा पनि फोहोर व्यवस्थापन गर्न सकिने अवस्था नभएकोले काभ्रेस्थलीको बाटो अपनाइएको हो ।