• ८ कात्तिक २०८२, शनिबार

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुईजना पक्राउ

blog

अमरराज नहर्की
तनहुँ, कात्तिक ८ गते ।
धारिलो हतियार प्रहार हुँदा तनहुँमा एक युवक सख्त घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीय दीपेश न्यौपाने शुक्रबार साँझ घाइते भएका हुन् ।

न्यौपानेलाई शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोकमा केही युवाबिच विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ  । पिठ्युमा चोट लागेका न्यौपानेलाई सुरुमा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएको थियो भने थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–३ दुलेगौंडाका २६ वर्षीय कुमार लामा र २९ वर्षीय निशान पौडेल छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिकका अनुसार धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् । उक्त घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक पोषण थापाको कमाण्डमा खटिएको टोलीले गरिरहेको बिकले बताउनुभयो ।