• ८ कात्तिक २०८२, शनिबार

तनहुँमा फर्किए लोपोन्मूख गिद्ध

blog

गौ संरक्षण केन्द्रमा आएका आएका गिद्धहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक ८ गते ।
तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिवालय गौसंरक्षण केन्द्र अहिले पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट उदाहरण बनेको छ । व्यास नगरपालिकाको सक्रिय पहल र व्यवस्थापनले गर्दा विगतमा हराउँदै गएको गिद्ध फेरि बथानैसहित फर्किन थालेका छन् ।

प्रकृतिको कुचिकारका रूपमा चिनिने गिद्धहरू पछिल्ला वर्षमा आहाराको अभाव, रुखको कटानी र विषाक्त पदार्थका कारण लोपोन्मुख अवस्थामा पुगेका थिए । तर व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको गौसंरक्षण केन्द्रमार्फत मरेका गाई–गोरुलाई गिद्धको आहाराका रूपमा व्यवस्थापन गर्न थालेपछि अहिले नौ प्रजातिका करिब सय गिद्ध दैनिक देखिन थालेका छन् ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार, गिद्ध संरक्षणको यो प्रयास व्यास नगरपालिकाको दीर्घकालीन योजनाअन्तर्गतको अभियान हो । यस कार्यलाई नगर गौरवको योजनामा समावेश गरेको छ । न्यौपानेले भन्नुभयो, “गौसंरक्षण केन्द्रमार्फत आहाराको व्यवस्था भएपछि लोपोन्मुख गिद्ध फर्काउन सफल भएका छौं, यहाँ पूर्णरूपमा इकोसिस्टम लागू गरेका छौँ । जहाँ गाई, गिद्ध, नदी र वनस्पति सबै आपसी सहअस्तित्वमा छन् ।”

नगरपालिकाले गिद्ध संरक्षणका लागि हरेक वर्ष १० देखि १५ लाख रुपियाँ बजेट छुट्याउँदै आएको छ । केन्द्रमा कार्यरत तीन कर्मचारीको तलब, गाईका लागि पराल, चोकरजस्ता खाद्य पदार्थ र आवश्यक औषधी नगरपालिकाकै सहयोगमा उपलब्ध गराइन्छ । साथै, १२ लाख रुपैयाँको तारबार लगाएर केन्द्रको सुरक्षासमेत नगरपालिकाले सुनिश्चित गरेको छ । नगरप्रमुख न्यौपानेका अनुसार नगरले प्राकृतिक सन्तुलन र धार्मिक पर्यटन दुबैलाई अघि बढाउने नीति अपनाएको छ ।

“प्रकृतिमा सबै प्राणीले बाँच्ने अधिकार राख्छन् । गिद्धहरू फर्किनु हाम्रो संरक्षण नीति सफल भएको प्रमाण हो”, न्यौपानेले थप्नुभयो । केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार, व्यास नगरपालिकाको निरन्तर सहयोगले नै यो सम्भव भएको हो । गौसंरक्षण केन्द्र स्थापनापछि दैनिक नौ प्रजातिका करिब सय गिद्ध देखिन थालेका छन् । राज, हिमाली, घाँटी खुइलेदेखि स्थानीय जातका ।

सापकोटाले भन्नुभयो, “नगरपालिकाले नसोचेको ठाउँमा पनि सोचेर काम गरेको छ, जसले पर्यावरण र जनजीवन दुबैलाई सन्तुलित बनाएको छ ।” गाई र गोरुको मलमूत्र र कुहिने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गरिएको छ, जसले केन्द्रलाई स्वावलम्बी बनाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बिरामी गाईको उपचार र औषधी सहयोग गर्दै आएको छ । केन्द्रको यस्तो सहयोगले मरेका गाईको सिनो सुरक्षित बनाउन चिकित्सकको सल्लाहमा औषधीको मात्रा मिलाइन्छ, जसले गिद्धको स्वास्थ्य र प्रजननमा योगदान गरेको छ ।

व्यास नगरपालिका–५ ढोडेनीस्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालिका कल्पना गौलीले व्यास नगरपालिकाको अभियानलाई “उदाहरणीय संरक्षण पहल” भएको बताउनुहुन्छ । गौलीले भन्नुभयो, “गिद्धले वातावरण सफा र सन्तुलित राख्ने काम गर्छ । व्यास नगरपालिकाको यो प्रयासले न केवल तनहुँ, पूरै देशका पालिकालाई प्रेरणा दिएको छ ।”

वेदअनुयायी प्रतिष्ठान केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष ऋषीराम ढुङ्गाना सेवकले भन्नुभयो, “गौसंरक्षण केन्द्र सञ्चालनपश्चात् जिल्लाबाट हराइसकेको गिद्ध अहिले बथानैसहित फर्किएको छ, जुन नगरपालिकाको दुरदर्शी सोचको नतिजा हो ।”

व्यास नगरपालिकाको यो प्रयासले धार्मिक पर्यटन, हरित विकास र वन्यजन्तु संरक्षण तीनै क्षेत्रलाई जोड्दै तनहुँलाई इको–मोडल नगरपालिकातर्फ अघि बढाएको ढुङ्गानाको भनाइ छ । गिद्ध संरक्षणमा टेवा पुगोस् भनेर सामाजिक उत्तर दायित्वअन्तर्गत गिद्ध बस्नको लागि अग्ला खम्बाहरुको व्यवस्था गरिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारी बताउनुहुन्छ ।