रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ८ गते । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–६, हरेवास्थित अर्जेवा झरना पर्यटकको आकर्षण बनेको छ । यहाँ आउने आन्तरिक एवम् बाह्य पर्यटकहरु बढ्दै जान थालेका छन् ।
गाउँपालिकाको केन्द्र शान्तिपुर हुँदै छिमेकी जिल्ला बाग्लुङ्ग जाने जो कोही एकछिन अर्जेवा झरना हेरेर आनन्द लिन्छन् । पछिल्लो समय यहाँ विभिन्न भौतिक संरचनाहरु निर्माण गरिएको छ । एक सय मिटरभन्दा माथिबाट आउने यो झरनामा आउने पर्यटकहरुले फोटो खिच्ने गर्दछन् ।
शान्तिपुरको प्रवेशको मुख्य सडकमा पर्ने यो झरना हरेर आनन्द लिन पर्यटकहरु आउने गर्छन् । यस झरनाको मनमोहक दृश्यावलोकनसँगै फोटो, भिडियो बनाउन पर्यटकहरु आउने गरेको पाइन्छ । त्यसैगरी पिक्निक स्पट पनि भएकाले प्रायः बिदाको समयमा यहाँ निकै भिड लाग्ने गर्दछ ।
झरनालाई व्यवस्थित गर्न विभिन्न भौतिक संरचना निर्माण गरिएको छ । यहाँ गेट निमार्ण, शिवजीको मूर्ति स्थापना, प्रतिक्षालय भवन, तार जाली लगायतका विभिन्न काम गरिएको छ । बाह्रै महिना पानी झर्ने यो झरनालाई व्यवस्थित गर्न र राम्रो पर्यटकीय गन्तव्य बनाउने चन्द्रकोट गाउँपालिका निरन्तर लागेको छ ।