• ६ साउन २०८१, आइतबार

नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै

blog

काठमाडौँ, साउन ६ गते । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा सबै यात्रुको अवस्था पत्ता नलाग्दा हराएका व्यक्तिका आफन्त निराश बन्न थालेका छन् । यस अवस्थामा भारतबाट आएको प्राविधिक तथा नेपाली गोताखोरसहितको संयुक्त टोलीले आइतबारदेखि नयाँ रणनीतिसाथ खोजी थाल्ने भएको छ । भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेलगत्तै राणनीति बनाएको गृहमन्त्रालयको विपत् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालको भूगोल र नदीनालाको अवस्थिति फरक भएकै कारण त्रिशूलीमा डुबेका बस यात्रु नभेटिएको इतिहास रहेको छ । दुर्घटना भएको बसमा भारतीय नागरिकसमेत सवार रहेको अभिलेख पाइएको हुनाले भारत सरकारले चासोसाथ खोजी गर्न टोली पठाएको हो । अहिलेसम्म सात जना भारतीय नागरिक परेको निश्चित भएको छ । नेपाली गोताखोर अब्बल छन् तर नेपालसँग नभएको उपकरणसहित टोली आएकाले आशा जागेको उहाँले प्रस्ट पार्नुभयो । 

भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको विपत् व्यवस्थापन महाशाखाका प्रमुख भुसालले जानकारी दिनुभयो । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ । 

भुसालका अनुसार बस नभेटिनुमा त्रिशूली नदीको भौगोलिक जटिलता नै हो । त्यसमाथि मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण पहिलो दिन नै सकस परेको थियो । जटिल भूगोलसहित त्रिशूली नदी कतै अत्यन्त खोँचयुक्त गहिरो छ भने कतै फराकिलो बालुवा र ढुङ्गाले भरिएको छ । 

उद्धार र खोजीमा सघाउनका लागि उच्चस्तरीय प्रविधिसहितको टोली भारतबाट आएकाले अबको खोजी प्रभावकारी हुने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो । नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख  माधव पौडेलले गर्नुहुने छ । उहाँसहित अन्य २५ जना नेपाली गोताखोरसहितको टोली रहने सशस्त्र प्रहरी बलमा प्रवक्ता कुमार न्यौपानले बताउनुभयो । गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१  नम्बरको गणपति डिलक्स र वीरगन्जबाट  काठमाडौँ  आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस सिमलतालको भेलपहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव अहिलेसम्म भारतसहित नेपालको नदीका विभिन्न स्थानमा फेला पारिए पनि बस र अन्य यात्रुको अवस्था पत्ता लागेको छैन ।