• १२ साउन २०८१, शनिबार

मुख्यमन्त्री सोडारीको राजीनामा माग

blog

पत्रकार सम्मेलनमा धारणा राख्दै दलका नेताहरु ।

भावना जोशी

अत्तरिया, असार २९ गते । सुदूरपश्चिमका तीन राजनीतिक दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले आज बिहान धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा माग गर्नुभएको हो ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भन्नुभयो, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ । ठुला दल उहाँको समर्थनमा छैनन् । बजेटमाथिको छलफल हुन सकेको छैन । अल्पमतको सरकारले ठुला निर्णयहरू गर्न मिल्दैन ।’ 

कानुनी प्राबधानी हेरेर ३० दिन कुर्सीमा बसिरहने होइन, उहाँले राजनीतिक परिस्थितिलाई हेर्नुपर्छ, शाहलेभन्नु भयो, “उहाँले बहुमत गुमाइ सक्नुभएको छ । बहुमत प्राप्त गर्न सक्ने अवस्था पनि छैन । त्यस्तो अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।”

एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा) ले हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले मुख्यमन्त्रीलाई नैतिक रूपमा सरकारमा बस्न नसुहाएको बताउनुभयो । नयाँ गठबन्धनको सरकार बनाउन उहाँले मार्ग प्रशस्त गर्नु पर्ने उहाँको सुझाव छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले सरकारले बिचौलियाबाट ल्याएको बजेट बिचौलियाबाटै सार्वजनिक गरेकाले बजेट पास नहुने बताउनुभयो । सरकार अल्पमतमा परेको र मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे नागरिक उन्मुक्तिले मत नदिने उहाँले प्रष्ट पार्नुभयो ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा छ । 

नयाँ गठबन्धन बनेपछि असार १ गते पेस भएको बजेटमाथिको छलफल हुन सकेको छैन । यसैबिच सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीसहितको सर्वदलीय बैठक बोलाउनु भएको थियो । छलफल पनि अगाडि बढ्न सकेको छैन ।