• २१ असार २०८१, शुक्रबार

कांग्रेस–एमाले नवीन सहकार्य

राजनीतिक स्थायित्व र संविधान संशोधन

blog

नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेस मुख्यालयमा मङ्गलबार आयोजित फोटो प्रदर्शनीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ, असार १९ गते । प्रतिनिधि सभाको पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य आरम्भ भएको छ । आवधिक निर्वाचनमा पहिलो बन्ने प्रतिस्पर्धामा रहेका कांग्रेस–एमालेले २०७२ को संविधान जारी भएपछि राजनीतिक स्थायित्व र संविधान संशोधनसहितको मुद्दामा सहकार्यको थालनी गरेका हुन् । 

एक सातादेखि गृहकार्यमा रहेका कांग्रेस–एमालेका शीर्ष नेताले सोमबार मध्यरातमा सत्ता सहकार्यको अन्तिम खाका तयार गरेका हुन् । बुढानीलकण्ठस्थित एक व्यवसायीको घरमा पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच दुई दलको सत्ता गठबन्धन बनाउने र त्यसमा साना दललाई पनि समावेश गर्ने सहमति भएको थियो । 

एमाले महासचिव शङ्कर पोखरेलका अनुसार दुई दलको सहमतीय सरकारको नेतृत्व सुरुमा एमाले अध्यक्ष ओलीले गर्नुहुने छ । उहाँले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र सोही अनुरूप कानुन निर्माण गर्ने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी विषयसँग सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गराउने समझदारी भएको छ ।” 

कांग्रेस र एमालेबिच संविधान संशोधनसँगै सङ्घीय सरकारमा सत्ता साझेदारी, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारहरूको नेतृत्वसहित संविधान कार्यान्वयनमा देखिएको जटिल पक्षलाई संशोधन गर्ने गरी समझदारी निर्माण भएको छ । 

कांग्रेस बैठक आज 

कांग्रेसले एमालेसँग सत्ता सहयात्राका सन्दर्भमा भएको सहमतिलाई औपचारिक रूप दिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा निवास बुढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकले एमालेसँगको गठबन्धनबारे औपचारिक निर्णय गर्ने छ । यसअघि मङ्गलबार बसेको बैठकले संविधान संशोधन, राजनीतिक स्थायित्व र आर्थिक सुधार गर्नका लागि एमालेसँग गठबन्धन गरेर सरकार निर्माण प्रक्रियामा अघि बढ्नुपरेको ठहर गरेको थियो । बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग भएको सहमतिबारे जानकारी गराउनुभएको थियो । 

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताउनुभयो । उहाँका अनुसार आगामी निर्वाचनसम्मका लागि कांग्रेस–एमाले सत्ता सहकार्यको समझदारी बनेको छ । 

प्रधानमन्त्रीलाई एमालेको आग्रह

एमालेले प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार मङ्गलबार बसेको एमाले सचिवालय बैठकले कांग्रेस–एमाले सहमति अनुसार ‘सरकार बनाउने प्रयोजनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्ने’ निर्णय गरेको हो । उहाँले भन्नुभयो, “सदनको दुई ठुला दल एउटा निष्कर्षमा पुगिसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरेर सहयोग गर्नु वाञ्छनीय हुन्छ । उहाँले त्यो गर्ने विवेक पु¥याउनु हुन्छ भन्ने आशा गरेका छौँ । आह्वान गरेका छौँ ।”

उहाँका अनुसार बैठकले एमाले अध्यक्ष ओलीको नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउने गरी कांग्रेस–एमालेबिचमा भएको समझदारी र सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो, “त्यसरी बन्ने सरकारमा सहभागी हुन, मुलुकमा स्थायित्व आर्थिक विकास र समृद्धिमा योगदान गर्न सबै राजनीतिक दललाई आग्रह गरिएको छ ।” यसअघि प्रधानमन्त्री प्रचण्डलाई मङ्गलबार बिहान भेटेर एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेबिचको समझदारीबारे जानकारी दिँदै मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको थियो ।  

साना दल सकारात्मक

संसद्मा प्रतिनिधित्व गर्ने साना दलले पनि कांग्रेस–एमालेको सत्ता समीकरणलाई समर्थन गर्ने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मङ्गलबार कांग्रेस सभापति देउवासँगको भेटमा कांग्रेस–एमाले गठबन्धनलाई आफ्नो पार्टीको साथ र समर्थन रहेको बताउनुभयो । 

बैठकपछि लोसपा नेपालका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले भन्नुभयो, “कांग्रेस सभापति देउवासँग भेटवार्ता भयो । हाम्रो पार्टी अध्यक्ष, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले कांग्रेस–एमालेको गठबन्धन सकारात्मक रहेको छ र हामी साथ दिन्छौँ भन्ने कुरा राख्नुभयो । 

जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले कांग्रेस–एमालेको गठबन्धनलाई सकारात्मक रूपमै लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनमत पार्टीले पहिलेदेखि नै कांग्रेस–एमाले मिलेर सरकार चलाए हुन्छ भनेको हो । अहिले सहमति बन्यो, यो सकारात्मक नै छ ।” जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले अहिलेसम्म प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता नदिइएको र आउने दिनमा विकास हुने राजनीतिक परिस्थितिका आधारमा कांग्रेस–एमाले गठबन्धनबारे निर्णय गर्ने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म यही सरकारमा रहने र राजीनामा दिएपछि नयाँ समीकरणका सम्बन्धमा आवश्यक छलफल गर्ने बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस–एमालेबिच भएको गठबन्धनलाई सकारात्मक भनेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको सवालमा कांग्रेस–एमालेसँग सहकार्य हुन सक्ने बताउनुभयो । 

रास्वपा नयाँ सरकारमा नजाने

राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । साथै रास्वपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार पनि नछाड्ने निर्णय गरेको छ । 

रास्वपा सचिवालय बैठकपछि संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अब बन्ने गठबन्धनमा नरहने प्रस्ट पार्नुभयो । उहाँले नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढेपछि सरकारमा नरहने बताउनुभयो ।