काठमाडौँ, मङ्सिर १४ गते । नेवार समुदायको कुलदेवता स्थान काठमाडौँ महानगरपालिका–७ स्थित सिफल चौरलाई पर्खाल उठाएर ‘इनडोर’ रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान गरेपछि विरोध सुरु भएको छ । महानगरले खेलकुद विकास अन्तर्गत १४ रोपनी क्षेत्रफलको सिफल चौरलाई कङ्क्रिटको पर्खाल र घेरबार गर्ने योजना बनाएपछि स्थानीय एवं संस्कृति अभियन्ता विरोधमा उत्रिएका हुन् ।
संस्कृति संरक्षण अभियन्ता शङ्करबाबु सङ्गतका अनुसार देवस्थल रहेको सिफल चौरमा जात्रा, पर्वसँगै नियमित खेलकुद हुने गरेको छ । उहाँले भन्नुभयो, “ऐतिहासिक एवं धर्मसंस्कृतिको केन्द्र सिफल चौरमा २०७२ को महाभूकम्पका बेला पाल टाँगेर बसेका थियौँ । यो खेलकुद मैदान मात्रै होइन, विराट् सांस्कृतिक सभ्यताको चिनारी बोकेको ठाउँ हो ।”
काठमाडौँ महानगर–७ र ८ मा रहेका सीमित खुला ठाउँमध्ये एक हो सिफल चौर । यहाँ रहेको नेपाल संवत् ७४५ (विसं १६८१) को शिलापत्रमा सिफल चौरलाई कुलदेव स्थल भनिएको छ । नेवाः संस्कृति संरक्षण अभियन्ता सङ्गतका अनुसार तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लकै पालामा लेखिएको शिलालेखले ‘सिफल चौरमा कुलदेवताको स्थान छ’ भनिएको छ । उहाँले ‘इन्द्रबल खेत १ कर्ष’ लेखिएको शिलालेखमा जग्गाको प्रकृति गुठी प्रणाली वा धार्मिक प्रयोजनसँग जोडिएको भनिएको जानकारी दिनुभयो ।
‘संवाद हुँदै छ, समाधान खोज्छौँ’
काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले सिफल चौरलाई व्यवस्थित गर्न र खेलकुद विकासकै लागि महानगरले रङ्गशाला बनाउने योजना बनाएको जानकारी दिनुभयो । उहाँले रङ्गशाला बनाउने विषयमा विवाद सुरु भएपछि संवाद सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गशाला खेलकुद गतिविधिकै लागि हो । बोलपत्र भइसकेको हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन पनि हुन सक्छ । हामी समाधान खोज्छौँ ।”
काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले ऐतिहासिक देवस्थल सिफल चौरलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले निर्बाध रूपमा जात्रा, पर्व सञ्चालन गर्ने ठाउँमा रङ्गशाला बनाएपछि सङ्कुचन हुन्छ कि भन्ने चिन्तामा स्थानीयवासी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी जम्न नदिने गरी व्यवस्थापन र संरक्षण गर्नु पर्छ । यस क्षेत्रमा रहेको खाली चौर पनि यही हो । इतिहास जोडिएको क्षेत्रमा कङ्क्रिटको संरचना बनाउँदा राम्रो नहुने र सांस्कृतिक धरोहर समाप्त हुने चिन्ता स्थानीयको छ ।”
सांस्कृतिक अभियन्ता शङ्करबाबु सङ्गतले पुरातत्व ऐनले नै चार सय वर्ष पुरानो शिलालेख भएको सांस्कृतिक स्थल संरक्षण गर्नुपर्ने प्रस्ट पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहास मेट्ने होइन, संरक्षण गर्ने हो, यो ठाउँमा कुनै किसिमको पक्की संरचना बनाउनु भनेको पुरातìवसम्बन्धी ऐनकानुन उल्लङ्घन गर्नु हो । त्यसैले इनडोर रङ्गशाला बनाउने योजना स्थगित गर्नु पर्छ ।”
जात्रा स्थल सिफल चौर
सांस्कृतिक अभियन्ता सङ्गतका अनुसार सिफल चौरमा बिहानसाँझ शारीरिक अभ्यास गर्न स्थानीय जुट्ने गर्छन् । खुला चौर भएकाले यहाँ हिँड्न, व्यायाम गर्न कसैबाट रोकावट हुँदैन तर सिफल चौरको सबैभन्दा महत्वपूर्ण विशेषता चाहिँ जात्रा र पर्व हो ।
बर्सेनि चल्नेसँगै १२ वर्षमा एक पटक सञ्चालन हुने जात्रा स्थल सिफल चौर हो । उहाँले बत्छलेश्वरी जात्रा, वज्रेश्वरी जात्रा, नक्साल भगवती जात्रा, गणेश जात्रा, गुह्येश्वरी जात्रा, नवदुर्गा जात्रा, हरिसिद्धि, माधवनारायण त्रिशूल जात्रा, नीलभैरव जात्रा सिफल चौरमा सञ्चालन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपति क्षेत्रमै पर्ने सिफल चौरलाई खुला राखेर यसको ऐतिहासिक पक्षको जगेर्ना गर्नु पर्छ, खेल मैदान बनाउन अरू कुनै ठाउँ खोज्नु पर्छ ।”