बुलबुले समाचारदाता
सुर्खेत, मङ्सिर २२ गते । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आआफ्ना तयारी तीव्र बनाइरहेका छन् । निर्वाचन सफल पार्न सरकार, निर्वाचन आयोग र यससँग सरोकार राख्ने व्यक्तिले उत्तिकै चासोका साथ काम अघि बढाइरहेका छन् भने राजनीतिक दलहरूले समेत आफ्नो तयारीलाई तीव्र पारिरहेका छन् ।
यस पटकको निर्वाचनमा नागरिक पनि उत्तिकै चनाखो बनिरहेका छन् । कस्ता जनप्रतिनिधि चयन गर्ने ? कुन उमेर समूहका व्यक्ति चुन्दा देशको विकास हुन्छ ? भन्ने जस्ता विषयले अहिले चोक चौतारामा चर्चा पाइरहेको छ । वीरेन्द्रनगरमा भेटिएका हुम्लाको खार्पुनाथ गाउँपालिकाका जनकबहादुर शाहीले युवा नेतृत्व आजको आवश्यकता भएको बताउनुभयो । पुराना दल तथा नेताले नागरिकको गुनासो सम्बोधन गर्न नसकेको, भष्ट्राचार मौलाएको र नीति अनुरूपको नेतृत्व गर्न नसकेको उहाँको आरोप रहेको छ ।
यस्तै कालीकोटका नरेन्द्रबहादुर शाहीले आउँदो निर्वाचन अग्निपरीक्षाका रूपमा साबित हुने बताउनुभयो । स्वतन्त्र तथा युवा नेतृत्व छनोट गर्नुपर्ने भन्दै उहाँले जनता पनि सचेत हुने बेला आइपुगेको जनाउनुभयो । वीरेन्द्रनगरका कमलप्रसाद उपाध्यायले सक्षम व्यक्तिलाई यस पटक मत दिने बताउनुभयो । अघिल्ला निर्वाचनमा पार्टीसम्बद्ध दललाई मतदान गर्दा देश नै सङ्कटमा पर्ने अवस्था सिर्जना भएकाले युवा तथा सक्षम व्यक्ति छनोट गर्ने योजना रहेको सुनाउनुभयो । जेनजी आन्दोलनलाई संस्थागत र लोकतन्त्र सुदृढ गर्नुपर्ने म्यान्डेट फागुन २१ को निर्वाचन भएको सपना भट्टराईले बताउनुभयो । जेनजीको आन्दोलन संस्थागत र लोकतन्त्र सुदृढ गर्न निर्वाचनमा योग्य उम्मेदवारलाई मत दिने योजना बनाएको उहाँको भनाइ छ । यस पटकको निर्वाचनमा युवा प्रतिनिधि चयन गर्ने मतदाताले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले पनि आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । प्रारम्भिक चरणमा आन्तरिक छलफल सुरु भएका छन् । कर्णाली प्रदेशमा सव्रिmय राजनीतिक दलले पार्टीका गतिविधिलाई चुनावकेन्द्रित गराउने योजना बनाएका छन् । यस पटक कर्णालीमा २६ हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार २६ हजार ६३५ मतदाता थपिएका हुन् । यसअघिको चुनावमा प्रदेशभर १० लाख छ हजार ८३४ मतदाता थिए ।