कुस्मा समाचारदाता
कुस्मा (पर्वत), मङ्सिर २२ गते । स्थानीय सरकारले निःशुल्क वितरण गर्ने औषधी खरिद प्रक्रिया समयमै अगाडि नबढाउँदा कुस्मा नगरपालिकाभरका स्वास्थ्य संस्थामा औषधीको अभाव चर्किएको छ । स्थानीय सरकारले आर्थिक वर्षको सुरुवातमै खरिद प्रक्रिया अगाडि बढाउन भने न्यून बजेट विनियोजन र प्रशासनिक ढिलाइले स्वास्थ्य चौकीमा आधारभूत औषधीसमेत पाउन सक्ने अवस्था छैन ।
नगरपालिकाको वडा नं. ३ स्थित दुर्लुङ स्वास्थ्य चौकीका प्रमुख सुरेश सुवेदीले सर्वसाधारण बिरामीले पाउनुपर्ने ९८ प्रकारका औषधीमध्ये अत्यावश्यकीय औषधी नै बिरामीलाई उपलब्ध गराउन नसकिएको गुनासो गर्नुभएको छ । स्वास्थ्य चौकी प्रमुख सुवेदीले भन्नुभयो, “आर्थिक वर्षको असोजमा टेन्डर सम्पन्न भई ढिलोमा पनि कात्तिकसम्ममा खरिद भएको औषधी वितरण गर्न सक्नुपर्ने हो तर पालिकामा खरिदको अत्तोपत्तो छैन । बिरामीलाई औषधी नदिई फिर्ता पठाउनुपर्ने अवस्था छ । औषधी अभावले गाउँको बर्थिङ सेन्टरमा बच्चा जन्माउन आउनेको सङ्ख्या घटेको छ । सुत्केरीलाई सदरमुकामको अस्पतालमा रेफर गर्नु परेको छ ।”
पालिकाको वडा नं. ७ मा रहेको चुवा स्वास्थ्य चौकीका प्रमुख गोपाल शर्माले पालिकाबाट निःशुल्क वितरण गर्ने औषधी समयमा नआएपछि सर्वसाधारणको माग अनुसार वडासँग समन्वय गरी केही अति आवश्यकीय औषधी खरिद गरेको बताउनुभयो । वडा नं. ७ का अध्यक्ष सुरेन्द्र केसीका अनुसार वडामा गरिब र आर्थिक रूपमा विपन्न वर्गको दलित बस्ती रहेको र स्वास्थ्य सेवा दिनुको विकल्प नभएको हुँदा औषधी खरिदमा ३० हजार रुपियाँ विनियोजन गरी निःशुल्क वितरण गरिएको छ ।
औषधी अभावका कारण पालिकाभित्र खास गरी ग्रामीण भेगका स्वास्थ्य चौकी बढी प्रभावित भएका छन् । पारासिटामोल, आइभी फ्लुड, एन्टिबायोटिक, सिरिन्ज जस्ता आधारभूत औषधी अभावले स्थानीयवासी निजी मेडिकलमा भर पर्न बाध्य छन् भने सामान्य उपचारका लागि सदरमुकामस्थित प्रदेश अस्पतालमा धाउनु परेको छ । गाउँका स्वास्थ्य संस्थामा निःशुल्क पाइनुपर्ने औषधी नपाउँदा आर्थिक रूपमा कमजोर बिरामी निकै मर्कामा परेको स्थानीयको दुःखेसो छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले औषधी खरिद प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पालिकाले स्वास्थ्य क्षेत्रका लागि न्यून बजेट विनियोजन गरेकाले औषधी पनि भने जति निःशुल्क वितरण गर्न सकिएको छैन ।” पालिकालाई औषधी खरिदका लागि सङ्घीय सरकारबाट ससर्त आएको रकम १४ लाख रुपियाँ मात्रै छ भने पालिकाबाट औषधी खरिदका लागि बजेट विनियोजन गरेको छैन । पालिकाको स्वास्थ्य शाखाले खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको र केही सातामै औषधी आपूर्ति सहज हुने दाबी गरेको छ ।