काठमाडौँ, मङ्सिर १९ गते । ऐतिहासिक एवम् प्राचीन सभ्यता, मानव विकास र धार्मिक संस्कार र संस्कृतिसँग जोडिएको बागमती नदी सरसफाइ अभियान आरम्भ भएको ६५५ औँ साता पूरा भएको छ । अव्यवस्थित सहरीकरण हुँदा ढल सिधै नदीमा मिसाएर विरूप बनाइएपछि बागमती नदी सफाइ अभियान प्रारम्भ गर्नु परेको हो ।
बागमती नदीलाई व्यवस्थित गर्ने, सभ्यतासँग जोडिएको संस्कृति जगेर्ना गर्ने र सौन्दर्यीकरण गर्ने काम पनि प्राथमिकताका साथ अघि बढिरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी व्यवस्थापन कार्य अघि बढाइरहेको छ ।
आर्थिक वर्ष २०५२/५३ मा स्थापना भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आर्थिक वर्ष २०८१/८२ सम्ममा २३ अर्ब ८६ करोड ४९ लाख ५४ हजार १३० रुपियाँ बजेट खर्च गरिसकेको छ । ३० वर्षमा विनियोजित ३४ अर्ब ७९ करोड ६६ लाख ६८ हजार ४१ रुपियाँमध्ये उक्त बजेट खर्च भएको हो । बागमती नदीको सरसफाइ हरेक साता हुन्छ । बजेट खर्च पनि भइरहेकै छ । स्वयंसेवी पनि खटिने गरेका छन् तर ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भन्ने उखानलाई चरितार्थ गर्दै बागमती नदीलाई समग्र सुधार गर्न चाहिँ सकिएको छैन अर्थात् काम सुस्त छ ।
बागमती सफाइको ६५५ औँ सातासम्ममै यो बजेट खर्च भएको होइन । ३० वर्षमा सांस्कृतिक विकासका काम पनि भएका छन् । समितिका सूचना अधिकारी उद्धव नेपालले बहुआयामिक परियोजना र कार्यव्रmम गर्दा नै उक्त बजेट रकम खर्च भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “काम अपेक्षाकृत रूपमा अघि बढ्नु पर्छ, हामी त्यसमा प्रस्ट छौँ तर बागमती नदीको सरसफाइमा मात्रै २३ अर्ब ८६ करोड रुपियाँ खर्च भएको होइन । बहुपरियोजनामा काम अघि बढाइएको छ ।”
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनार क्षेत्रलाई व्यवस्थित गरिरहेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ११ र १२ मा पर्ने सत्तल तथा मठमन्दिरसहित २८ वटा ऐतिहासिक सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गरेको छ । सूचना अधिकारी नेपालका अनुसार नेपाल प्रहरीले उपयोग गरिरहेको धर्मशाला तथा जीर्णोद्धार, पुनर्निर्माण भएका निजी गुठी अन्तर्गतका स्मारकमा कार्की सत्तल, मुन्सीघाट सत्तल, पञ्चनारीघाट सत्तल, मानन्धर सत्तल, माथेमा सत्तल पुनर्निर्माण गरिएको छ ।
सौन्दर्यीकरणसँगै सडक
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धाप ड्याम निर्माण गरेको छ । आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार बागमती ड्याम निर्माणका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिको प्रव्रिmयामा रहेको छ ।
समितिले गुह्येश्वरीमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । बागमती नदीमा ७३ दशमलव २८ किलोमिटर तटबन्ध गरिएको छ । सूचना अधिकारी नेपालले ३२ दशमलव ५६ किलोमिटर सडक कालोपत्रे र ८८ दशमलव ६३ किलोमिटर मुख्य ढल निर्माण भएको जानकारी दिनुभयो ।
बागमती सौन्दर्यीकरण कार्य अन्तर्गतका पूर्वाधारमध्ये केही पालिकालाई हस्तान्तरण गरिएको छ, जस अनुसार बागमती नदीमा बल्खुसम्म मुख्य ढल निर्माण गरिएको छ । उहाँका अनुसार
टुकुचामा फोहोर पानी प्रशोधन केन्द्र निर्माण आरम्भ भएको छ ।
चुनौतीका चाङ
समितिका सूचना अधिकारी नेपालले काम गर्ने व्रmममा चुनौती आउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँका अनुसार सरकारले २०६५ मङ्सिर १ गतेको निर्णय अनुसार नदीको
किनाराबाट दायाँबायाँ निश्चित दुरीमा स्थायी संरचना निर्माण कार्य गर्न नपाउने गरी मापदण्ड कायम भएको छ । उहाँले भन्नुभयो, “व्यक्तिगत जग्गाको मुआब्जा दिएर किनारा निर्माण काम गर्नुपर्ने हुन्छ । रकम अभावका कारण मुआब्जा दिन नसकिएकाले निर्माण कार्यमा अवरोध भइरहेको छ ।”
उहाँले २०२१ सालको नापी आधारमा नदीको बहाव क्षेत्र कायम गरी पूर्वाधार निर्माण हुनुपर्ने भए पनि नदीको बहाव क्षेत्रमा व्यक्तिगत भोग तथा व्यक्तिको जग्गाबाट नदी बगेको र नदीले धार परिवर्तन गर्दा समस्या उत्पन्न भएको बताउनुभयो । नदीकिनार अतिव्रmमण, ढलको मुख्य लाइन निर्माण भए पनि त्यसभन्दा तल पुराना ढल रहनु, विष्णुमती र धोबीखोला किनारको जग्गा प्राप्तको विषय आदि चुनौती छन् ।