हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर २२ गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाका २७ वटा मतदान स्थल अति संवेदनशील ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक विकटता र राजनीति विवाद हुने ठहर गर्दै ती मतदान स्थललाई अति संवेदनशील ठहर गरेको हो ।
जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० मध्ये २७ मतदान स्थलमा भौगोलिक विकटता र राजनीतिक विवाद हुने ठहर गर्दै अति संवेदनशील ठहर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताउनुभयो । समितिको निर्णय अनुसार २१ वटा संवेदनशील र १० वटा सामान्य रहेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले निर्धारण गरे अनुसार अदानचुली गाउँपालिकामा छ वटा मतदान स्थल रहेकोमा एउटा मतदान केन्द्र अति संवेदनशील रहेको छ भने पाँच वटा संवेदनशील छन् । आठ वटा मतदान स्थल रहेको चङ्खेली गाउँपालिकामा पाँच वटा अति संवेदनशील र तीन वटा संवेदनशील रहेका छन् । सात वटा मतदान स्थल रहेको ताँजाकोट गाउँपालिकामा पाँच वटा अति संवेदनशील र दुई वटा संवेदनशील छन् ।
त्यसै गरी १२ वटा मतदान स्थल रहेको सर्केगार्ड गाउँपालिकामा पाँच वटा अति संवेदनशील, चार वटा संवेदनशील र तीन वटा सामान्य रहेका छन् । पाँच वटा मतदान स्थल रहेको खार्पुनाथ गाउँपालिकामा दुई वटा अति संवेदनशील, दुई वटा संवेदनशील र एउटा सामान्य रहेका छन् ।
११ वटा मतदान स्थल रहेको नाम्खा गाउँपालिकामा पाँच वटा अति संवेदनशील, चार वटा संवेदनशील र दुई वटा सामान्य अवस्थाका निर्धारण गरिएको छ । त्यसै गरी सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा नौ वटा मतदान स्थल रहेकोमा चार वटा अति संवेदनशील, दुई वटा संवेदनशील र तीन वटा सामान्य रहेका छन् । मुख्य गरी भौगोलिक विकटता र राजनीति विवादलाई आधार मानेर मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताउनुभयो । यसरी निर्धारण गरिएमा मतदान स्थल अनुसार सुरक्षाव्यवस्था गरिने छ । नाम्खा र चङ्खेली गाउँपालिकामा नयाँ मतदान स्थल थपिएका हुन् ।