• १९ असार २०८१, बुधबार

सिकाइ उपलब्धि कमजोर

blog

कर्णाली प्रदेशको सिकाइ उपलब्धि प्रतिवेदन सार्वजनिक गरिँदै । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, असार १७ गते । कर्णाली प्रदेशमा कक्षा ५, ८ र १० मा सिकाइ उपलब्धि कमजोर रहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र भक्तपुरले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा विद्यार्थीका लागि कक्षागत तथा पारिवारिक सिकाइ उपलब्धि कमजोर रहेको देखाइएको हो । 

कक्षा १० को गणित, विज्ञान, नेपाली र अङ्ग्रेजी विषयमा ४० प्रतिशतभन्दा कम सिकाइ उपलब्धि भएको छ । गणितमा ३१, विज्ञानमा १८,  नेपालीमा ३९ र अङ्ग्रेजीमा ३० प्रतिशत सिकाइ उपलब्धि हासिल भएको केन्द्रका अध्ययनकर्ता धनबहादुर ओलीले बताउनुभयो । सबै विषयमा ४० प्रतिशतभन्दा कम विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका पाइएको जानकारी उहाँले दिनुभयो । सिकाइ उपलब्धि हासिल भए पनि सामुदायिकभन्दा संस्थागत विद्यालयमा बढी प्रगति देखिएको छ । 

यसै गरी कक्षा ८ मा पनि सिकाइ उपलब्धि उस्तै छ । गणित विषयमा ३२, विज्ञानमा ३८, नेपालीमा ५९ र अङ्ग्रेजीमा ५१ प्रतिशत उपलब्धि हासिल भएको पाइएको उहाँले बताउनुभयो । अध्ययनकर्ता ओलीले गणित र विज्ञानमा न्यूनतम सिकाइ उपलब्धि ४० प्रतिशत नपुगेको बताउनुभयो । कक्षा ८ मा पनि सामुदायिकभन्दा संस्थागत विद्यालयका विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका छन् । 

कक्षा ५ मा नेपाली, विज्ञान, अङ्ग्रेजी र गणित विषयमा पनि कर्णाली कमजोर छ । राष्ट्रिय सिकाइस्तर औसत ४९९ मध्ये कर्णालीमा नेपाली विषयको सिकाइ उपलब्धि ४८९ अङ्क रहेको छ । विज्ञान विषयको सिकाइस्तर ४९२ अङ्क, अङ्ग्रेजीको ४७३ अङ्क र गणितको ४७५ अङ्क रहेको छ । मुख्य विषयमा राष्ट्रिय सिकाइ अवसरभन्दा निकै कम रहेको ओलीले बताउनुभयो । यस्तै भाषिक सिप र गणितीय सिपमा पनि कमजोर देखिएको छ । कर्णालीमा भाषिक सिपमा ३९ प्रतिशत र गणितीय सिपमा २५ प्रतिशत मात्रै उपलब्धि हासिल भएको छ । 

प्रतिवेदनमा भाषिक सिपमा सबैभन्दा अगाडि गण्डकी प्रदेश र गणितीय सिपमा मधेश प्रदेश रहेको उल्लेख छ । अध्ययनका क्रममा बाबुभन्दा शिक्षित आमाका कारण बालबालिकाको शैक्षिक अवस्थामा सुधार आएको पाइएको छ । निरक्षरदेखि साक्षर, १० कक्षासम्म, १२ कक्षासम्म, स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन गरेका अभिभावकमा बाबुभन्दा आमाका कारण बालबालिकाको सिकाइस्तर राम्रो भएको अध्ययनकर्ता ओलीले बताउनुभयो । 

आर्थिक वर्ष २०८०/८१ मा कार्यसम्पादन परीक्षण गरिएका विद्यालयको अवस्थामा पनि कर्णाली कमजोर देखिएको छ । परीक्षणमा सहभागी भएका सात जिल्लाका ३७० विद्यालयमध्ये चार विद्यालय ४० भन्दा कम अङ्क प्राप्त गरी कमजोर श्रेणीमा परेका छन् । यस्तै ४० देखि ७० अङ्क प्राप्त गरी सामान्यको श्रेणीमा ३५१ विद्यालय परेका छन् भने ७० देखि ९० अङ्क प्राप्त गरी मध्य श्रेणीमा कर्णालीका १५ वटा विद्यालय परेका छन् । ९० भन्दा बढी अङ्क प्राप्त गरी उत्तम श्रेणीमा कर्णालीमा कुनै पनि विद्यालय पर्न नसकेको अध्ययनकर्ता ओलीले जानकारी दिनुभयो । 

यद्यपि प्रधानाध्यापकको कार्यसम्पादन मूल्याङ्कनमा सुर्खेतले सबैभन्दा धेरै ८८ अङ्क ल्याएको छ । मोरङ, धनुषा, चितवन, कास्की, रुपन्देही र कैलालीमध्ये सुर्खेत सबैभन्दा धेरै ८८ अङ्क प्राप्त गरी प्रथम भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाले सिकाइ उपलब्धिमा कमजोर कर्णालीका सम्बन्धमा शिक्षासँग सरोकार राख्ने पक्षहरूसँग छलफलको आवश्यकता औँल्याउनुभयो । 

उहाँले शिक्षक, पूर्वाधार अभावलगायत धेरै कारणले सिकाइ उपलब्धिमा कमी आएको उल्लेख गर्नुभयो । आगामी आवदेखि शून्य दरबन्दी भएका विद्यालयमा कम्तीमा तीन वटा सिकाइ अनुदान उपलब्ध गराउने, एक लाख १८ हजारभन्दा बढी शिक्षकलाई शैक्षिक तालिम दिइने, ठुला कक्षाका विद्यार्थीले साना कक्षाका विद्यालयलाई पढाउने अभियान थालिने जस्ता सुधारका काम गरिने भएको छ । शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले सिकाइ उपलब्धि हासिल गर्ने हो भने शिक्षामा तीन तहका सरकारले लगानी बढाउन आवश्यक रहेको औँल्याउनुभयो ।