• ६ साउन २०८२, मङ्गलबार

सवारी दुर्घटनामा एक वर्षमा पाँच सय व्यक्तिको मृत्यु

blog

दुर्घटना न्यूनीकरणका लागि सडकमै प्रशिक्षण दिँदै ट्राफिक प्रहरी ।

बुटवल समाचारदाता

बुटवल, साउन ६ गते । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । बढ्दो सहरीकरणसँगै वृद्धि भएका सवारीसाधन, साँघुरो सडक पूर्वाधार, चालकको लापर्बाही, प्रतिकूल मौसमलगायतका कारणले दुर्घटना बढ्दै गएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनाबाट मृतक र घाइते हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा सानाठूला गरी तीन हजार ४७९ वटा सवारी दुर्घटना भएका छन् । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले यी दुर्घटनामा परी ५०६ जना व्यक्तिले ज्यान गुमाएको जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा महिलाभन्दा पुरुष धेरै छन् । घाइतेको सङ्ख्या भने उस्ताउस्तै जस्तो छ । जसमा १०१ जना महिला र ४०५ जना पुरुष रहेका छन् । एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी पाँच हजार ६९१ जना घाइते भएका छन् । घाइते हुनेमा एक हजार ५७८ जना महिला र चार हजार ११३ जना पुरुष रहेका छन् ।

यो तथ्याङ्क अघिल्लो आवको भन्दा धेरै हो । अघिल्लो आव २०८०/८१ मा एक हजार १२० वटा सवारी दुर्घटना हुँदा ४९६ जना व्यक्तिले ज्यान गुमाएका थिए भने एक हजार ६९३ जना घाइते भएका थिए । त्यसै गरी आव २०७९/८० मा ८९२ वटा सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको थियो ।

रुपन्देहीमा धेरै दुर्घटना

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सवारी दुर्घटना रुपन्देहीमा भएका छन् भने सबैभन्दा कम दुर्घटना रुकुमपूर्वमा भएका छन् । रुपन्देहीमा एक वर्षमा ८०२ वटा सवारी दुर्घटना हुँदा १२१ जनाको मृत्यु भएको छ भने एक हजार २३२ जना घाइते भएका छन् । त्यसै गरी नवलपरासीपश्चिममा ३७८ वटा सवारी दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ भने ६०५ जना घाइते भएका छन् । 

कपिलवस्तुमा ४६३ वटा सवारी दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ भने ७८२ जना घाइते भएका छन् । पाल्पामा ११६ वटा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन् । गुल्मीमा ६९ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अर्घाखाँचीमा एक वर्षको अवधिमा ६४ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् । दाङमा ३६२ वटा सवारी दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ भने ६०३ जना घाइते भएका छन् । बाँकेमा ५७७ वटा सवारी दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने ९२६ जना घाइते भएका छन् । बर्दियामा ४८२ वटा सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ भने ७५८ जना घाइते भएका छन् । प्युठानमा ६६ वटा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् । रोल्पामा ८४ वटा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने १२८ जना घाइते भएका छन् । रुकुमपूर्वमा १६ वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।