• ६ साउन २०८२, मङ्गलबार

कर्णाली करिडोरको हुम्ला खण्डमा दस वटा कल्भर्ट निर्माण

blog

नाम्खा गाउँपालिका– ४ को याल्वाङमा निर्माण भएको कल्भर्ट । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, साउन ६ गते ।
कर्णाली करिडोरको हुम्ला खण्डमा एक वर्षमा दस वटा कल्भर्टको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएका छन् । बहुवर्षीय योजना भित्र पर्ने भए पनि आर्थिक वर्ष ०८१/०८२ मा यि कल्भर्टको निर्माण कार्य सम्पन्न भएको हो ।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि हिल्सासम्ममा विगत दुई वर्षदेखि निर्माण कार्य हुँदै आएका कल्भर्टहरु गत असार महिनाभित्र सम्पन्न भएको हिल्सा सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।

यसअघि सडक सञ्जाल नजोडिएकाले निर्माण सामग्री ढुवानीमा समस्या भएका कारण निर्माणमा ढिलाइ थियो । तर एक वर्षयता सलीसल्लाको कर्णाली नदीमा बेलिब्रिज सञ्चालनमा आएसँगै सडक यातायात खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जोडिँदा कल्भर्टको निर्माण कार्यले गति लिएको थियो । जसले गर्दा  दस वटा कल्भर्टको निर्माण भएको उहाँले बताउनुभयो ।

यी कल्भर्टको निर्माण कार्य सम्पन्न हुँदा यातायातका साधनलाई सहज भएको छ । कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्म दस वटा कल्भर्टहरु विभिन्न स्थानमा निर्माण कार्य सम्पन्न भएको छ । यसरी निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएका कल्भर्टहरुमा सिमकोट हिल्सा सडक खण्डमा याल्वाङ खोला र ढाँडकेर्मीमा छन् ।

त्यसैगरी सिमकोटदेखि कवाडीसम्ममा निर्माण गरिएका कल्भर्टहरुमा खार्पुनाथ गाउँपालिकाको लाली खोला, देउखुरी खोला र सुनाखाडाको खोलामा रहेका छन् भने सर्केगार्ड गाउँपालिकाको थाहा खोला र न्यासी खोलामा छन् । यता अदानचुली गाउँपालिकाको तुम्च, मकै र दोमुखको खहरे खोलामा  छन् ।