• ६ साउन २०८२, मङ्गलबार

ट्राफिक प्रहरीले उठायो ३० लाख राजस्व

blog

सवारी नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गर्दै ट्राफिक प्रहरी । तस्बिर : यामराज बिष्ट

यामराज बिष्ट
पञ्चकोशी (दैलेख), साउन ६ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गत आर्थिक वर्ष २०८१/८२मा ३० लाख १८ हजार पाँच सय रुपियाँभन्दा बढी राजस्व उठाएको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारी साधनका चालकलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेर ३० लाख १८ हजार पाँच सय रुपियाँ राजस्व उठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका ट्राफिक प्रहरी प्रमुख दिलीपकुमार बुढाले बताए ।

दैलेख जिल्लाका विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले असार सान्तसम्मको अवधिमा तीन हजार तीन सय ४३ सवारी साधनका चालकलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन सवारी गर्ने, साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल, जिप, कार दोस्रो नम्बरमा ट्रक, बस, ट्याङ्कर, ट्याटर, अटो, टेम्पो रहेका ट्राफिक प्रहरी प्रमुख बुढाको भनाइ छ । गत आबको तुलनामा यस आवमा सवारी दुर्घटनामा तीन प्रतिशतले बढेको उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरी प्रमुख बुढाका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न पालिकाअन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ ।