• १९ असार २०८१, बुधबार

सिँचाइ नहुँदा रोपाइँमा ढिलाइ

blog

बुलबुले समाचारदाता

सुर्खेत, असार १७ गते । कर्णालीका अधिकांश जिल्लामा यस पटक फाट्टफुट्ट मात्रै रोपाइँ भएको छ । मध्य असार भइसक्दा पनि यसपालि न्यून क्षेत्रमा धान रोपिएको छ । पर्याप्त वर्षा हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको वीरेन्द्रनगर नगरपालिका–१० का कृषक रामप्रसाद ढकालले बताउनुभयो । 

केही दिनअघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पर्याप्त हुन नसकेको ढकालको भनाइ छ । गत वर्ष यो समयमा आधा रोपाइँ गरिसकेको भए पनि यो वर्ष रोपाइँ सुरु हुन सकेको छैन । समयमै मल नपाउने समस्या भोग्दै आएका किसानले यस पटक धान पनि प्रतिकूल मौसमका कारण समयमै रोप्न पाएनन् । वीरेन्द्रनगर–३ का कृषक सबिन थापाले विगतका वर्षमा यतिबेला रोपाइँ सके पनि यो वर्ष सुरु नभएको बताउनुभयो । 

उहाँका अनुसार पानी नपर्दा रोपाइँ सुरु गर्न सकिएको छैन । उहाँको १५ कट्ठा खेतमा मध्य असारसम्म धान रोपाइँ नै सुरु हुन सकेको छैन । नजिकै नहर र कुलो भएका क्षेत्रमा पनि पानी पुग्न नसकेको उहाँले जानकारी दिनुभयो । 

प्रदेशभरका कृषकले विगतमा भन्दा ढिला रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिन ढिलाइ हुँदा रोपाइँमा समेत त्यसको असर परेको हो । प्रदेशभर यो वर्ष ४७ प्रतिशत रोपाइँ भएको प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार जुम्लामा ९० प्रतिशत धान रोपाइँ सकिएको छ भने सबैभन्दा कम सुर्खेतमा छ । 

सुर्खेतमा जम्मा पाँच प्रतिशत धान रोपाइँ भएको छ । यस्तै दैलेखमा ३१, जाजरकोटमा ३२, रुकुमपश्चिममा ३०, सल्यानमा ५२ प्रतिशत जमिनमा रोपाइँ भएको छ । डोल्पा र हुम्लामा ८०/८०, मुगुमा ७० र कालीकोटमा १५ प्रतिशत खेतमा रोपाइँ भएको छ । 

प्रदेशभर करिब ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भए पनि सिँचाइको भने अभाव छ । सिँचाइ हुने क्षेत्रफल २८.८ प्रतिशत मात्रै देखिएको छ । त्यसमध्ये सुर्खेतमा ४५.५ प्रतिशत रहेको देखिन्छ ।

प्रदेशभर ५६.८ प्रतिशतले सिँचाइ सुविधा लिएको तथा सुर्खेतमा ६६ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । कर्णालीमा आव २०७६/७७ मा एक लाख ५१ हजार ८०५ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७९/८० मा उत्पादकत्व घटेर एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।