काठमाडौँ (गोरखापत्र), वैशाख १६ गते । स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने व्यक्तिलाई आआफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।
संयन्त्रका सदस्यसचिव केशवराज जोशीका अनुसार गठबन्धनका उम्मेदवारविरुद्ध बागी भएका सबै उम्मेदवारलाई फिर्ता गर्न लगाउने र फिर्ता नगर्ने उम्मेदवारको सूची बनाएर शीर्ष नेतृत्वसमक्ष कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
त्यसैगरी संयन्त्रले गठबन्धनको संयुक्त आमसभा यही २३ गते राजधानी काठमाडौँमा मात्र गर्ने निर्णय गरेको छ । सदस्यसचिव जोशीले भन्नुभयो, “संयुक्त आमसभा काठमाडौँमा मात्र हुने भए पनि स्थानीय गठबन्धनका नेताहरूले शीर्ष नेतृत्वको आवश्यकता महसुस गरेमा आमसभालाई सम्बोधन गर्न नेताहरू केन्द्रबाट जान सक्नेछन् ।” बिहीबारको संयन्त्रको बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन र देवप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल तथा नेता विजय पौडेलको उपस्थिति थियो ।