• ४ जेठ २०८१, शुक्रबार

प्रशिक्षकको कारण क्याम्प छाड्यौँ : खेलाडी

blog

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै रोहित चन्द (बीचमा) । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख १५ गते । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण क्याप छाडेका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुदार ब्यवहार भएको बताएका छन् । टोलीका सिनियर खेलाडी रोहित चन्द लगायतले बिहीबार पत्रकार सम्मेलनगरी प्रशिक्षकसँग जायज माग गर्दा क्याम्पबाट निकालेको बताए ।

पत्रकार सम्मेलनमा रोहिच चन्दले खेलाडीको सामान्य गाँस बासको माग गर्दा प्रशिक्षकले टिमबाट जा भनेको र त्यसपछि अन्य खेलाडीले पनि क्याम्प छाड्ने निर्णय गरेको बताउनुभयो । मंगलबार राति चन्द सहित नौ जना खेलाडी बन्द प्रशिक्षणका लागि राखिएको दशरथ रंगशाला नजिकको होटल छाडेर बाहिरिएका थिए । 

आफुहरुले क्लब फुटबल भन्दा राष्ट्रिय टोलीलाई ध्यान दिएपनि प्रशिक्षकबाट क्याम्प नै छाडेर जा भन्नु अन्यायपूर्ण  ब्यवहार भएको खेलाडीको भनाई छ । प्रशिक्षण क्याम्प छाडेका खेलाडीको पत्रकार सम्मेलनमा फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथु पनि सहभागी हुनुहुन्थ्यो । खेलाडीहरुले यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग पनि छलफल गरेका थिए । 

छलफलमा बिद्रोह गरेका खेलाडीले प्रशिक्षक अल्मुताइरीको राजीनामाको माग समेत गरेका छन् । नेपाली फुटबल टोली अहिले कुवेतमा जुन ८ देखि १४ तारिखसम्म आयोजना हुने एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको थियो । एसिया कप छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग मैत्री पूर्ण फुटबल समेत खेल्न लागेको छ । प्रशिक्षक अल्मुताइरीले २५ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षण र तयारी सुरु गर्नुभएको थियो ।

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह पनि हो । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् । छनोट अघि टोलीका सिनियर खेलाडीले बिद्रोह गरेपछि एन्फा ब्यवस्थापनलाई अफ्ठेरो परेको छ ।