• ७ वैशाख २०८३, सोमबार

मदानेमा ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगता हुँदै

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ७ गते।
गुल्मीको मदाने गाउँपालिकाले भनभनेको कुडापानी खेलमैदानम ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता वैशाख ९ गते बुधबारदेखि सुरु हुँदैछ। गाउँपालिकाको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिताअन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगिता तथा अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भिमार्जुन भुसालले जानकारी दिनुभयो।

प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। वडास्तरीय महिला भलिबल प्रतियोगितामा यस गाउँपालिकाभित्र रहेका सातवटै वडाबाट महिला खेलाडी सहभागी हुनेछन्। अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगितामा सम्बन्धित स्थानीय तह बाहिरका दुई जना खेलाडी समावेश गर्न सकिनेछ। वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ रुपियाँ, दोस्रो हुनेलाई २२ हजार २२२ रुपियाँ र तेस्रो हुनेलाई ११ हजार १११ रुपियाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १११ रुपियाँ, दोस्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपियाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ। पुरुष भलिबल प्रतियोगितातर्फ खेलाडी समूह दर्ताका लागि तीन हजार शुल्क बुझाउनुपर्नेछ। प्रत्येक समूहमा नौ जना खलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक हुनुपर्नेछ।