• १२ असार २०८१, बुधबार

स्वास्थ्य क्षेत्रमा बजेट थप्न आग्रह

blog

काठमाडौँ, जेठ ३२ गते । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट अपुग हुने भन्दै सांसदहरूले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट थप्न आग्रह गरेका छन् । उनीहरूले स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति नियन्त्रणका लागि अग्रसरता लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य क्षेत्रका लागि करिब ८६ अर्ब बजेट विनियोजन गरिएको छ । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै सभाका सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्ने विश्व स्वास्थ्य सङ्गठनको सुझाव रहे पनि ४.६४ प्रतिशत बजेट छुट्याइएकोमा स्वास्थ्य क्षेत्रको समस्या सम्बोधन हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक सयदेखि तीन सय शøयासम्मको अस्पताललाई नर्सिङ र पारामेडिसिन पठनपाठन गर्न दिइने प्रस्ताव मन्त्रीपरिषद्मा यसअघि नै पुगेको छ । स्वीकृत भए दीर्घकालीन रूपमा यस्तो अभाव टार्न सकिन्छ ।” 

पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले २०४६ सालको दरबन्दीबमोजिमको जनशक्तिले २०८१ सालमा स्वास्थ्य क्षेत्र हाँक्न नसकिने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको बेथिति अन्त्य गर्न जनशक्ति आवश्यक रहेको र जनशक्ति थप्दा बजेट अपुग हुने बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य प्रभु साहले गम्भीर प्रकृतिका बिरामीले पनि सरकारी अस्पतालमा भर्ना हुन महिनौँ पर्खिनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी अस्पतालमा अराजकता छ । शुल्कको कुनै मापदण्ड छैन । स्वास्थ्य बिमा मजाक बनेको छ । एक जना बिरामी काठमाडौँ आउँदा उपचारमा लाग्ने खर्च जति उसले खानपिनमा खर्च गर्नु परेको छ । बिरामी गाउँमा छन् तर चिकित्सक सहरमुखी छन् । स्वास्थ्य क्षेत्रमा आमूल सुधारको आवश्यकता छ ।”

प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले सरकारी अस्पतालमा उपकरण र जनशक्ति नहुने तर नजिकैको निजी अस्पतालमा एमआरआई र सिटी स्क्यानसहितका सुविधा हुने कस्तो विडम्बनापूर्ण स्थिति बनाएका छौँ ? भन्दै प्रश्न गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ तामाङले स्वास्थ्य क्षेत्रलाई पुनर्संरचना गर्नुपर्ने बताउनुभयो । उहाँले विपन्न, दलित र असहायलाई निःशुल्क स्वास्थ्य उपचारको लाभ हुने गरी सुधान गर्न सुझाव दिनुभयो । सदस्य शोभा ज्ञवालीले पालिकामा स्वास्थ्य पूर्वाधार निर्माणको काम थालियो तर केही अलपत्र रहेकोमा बजेट विनियोजन गरेर अलपत्र पूर्वाधारलाई पूर्णता दिन आग्रह गर्नुभयो । 

प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्वास्थ्य क्षेत्रमा व्यापक संरचनागत सुधारको आवश्यकता रहेको बताउनुभयो । सदस्य सपना राजभण्डारीले सरकारी अस्पतालको अवस्था सुधारोन्मुख नरहेको र बजेटले जनस्वास्थ्यको कार्यक्रम समेट्न नसकेकाले सेवा र कार्यक्रम सुधार गर्न आग्रह गर्नुभयो । 

प्रतिनिधि सभा सदस्य किरणकुमार साहले स्वास्थ्य क्षेत्र सुधारका लागि प्रभावकारी अनुगमन हुनुपर्ने बताउनुभयो । उहाँले नयाँ अस्पताल स्थापना गर्ने कार्यक्रम आए पनि भएका अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने योजना नआएको दाबी गर्नुभयो । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा करिब ४० जना सदस्यले भाग लिए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमाथिको समूहीकृत छलफल भएको छ । छलफलमा सांसदहरूले रुग्ण उद्योग सञ्चालन गर्न, बाँझो जग्गाको समुचित उपयोग गर्न, सहकारी समस्या समाधान गर्न सुझाव दिए ।