• ९ साउन २०८१, बुधबार

धार्मिक पर्यटकीय स्थल बनाउन गाैशालामा पूर्वाधार निर्माण

blog

जलजला ७ धाइरिङ स्थित गण्डकी गोपाल गौशालामा निर्माण भइरहेका पूर्वाधार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ३१ गते ।
म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा रहेको गण्डकी गोपाल गाैशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार भौतिक पूर्वाधार निर्माण थालिएको छ ।

गौशाला बेनीदेखि एकघण्टा सवारीसाधनको यात्रा पछि पुग्न सकिन्छ । गौशाला क्षेत्रबाट पर्वतका साथै म्याग्दी र बागलुङका रमणीय स्थलहरुको अवलोकन समेत गर्न सकिन्छ ।

गाउँपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा चालु आर्थिक वर्षमा एक करोड २५ लाख ८५ हजार दुई सय ३२ रुपियाँ बजेटमा धर्मशाला, हवनकुण्ड, कुटी, ध्यान कुटीलगायतका संरचनाहरु निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार गौशालालाई पालिकाको मुख्य तिर्थस्थल बनाउने योजना अनुसार करिब १२ करोड रुपियाँ लागत अनुमान गरिएको डिपिआर बनाएर संघ र पालिकाको ५०/५० प्रतिशत खर्च गर्ने गरी भौतिक पूर्वाधार निर्माण थालिएको हो ।

चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि पालिकाले २०८० मङ्सिरमा सिमरन इन्फास्ट्रक्चर सप्लायर्स प्रा.लि.सँग आगामी असार २० गते भित्र योजना सम्पन्न गर्नगरी ठेक्का सम्झौता गरेको थियो । जेठको तेस्रो सातासम्म योजनाको ९० प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।

जेठ १० गते सङ्घीय सरकारबाट प्रस्ताव गरिएको बजेटमा समपुरक अनुदानबापत एककरोड ४५ लाख रुपियाँ  विनियोजन भएको र आगामी आर्थिक वर्षको सुरुवातमै ठेक्का लगाएर पूर्वाधार निर्माणमा जुट्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो  ।

स्थानीय मौलिक गाईको संरक्षण गर्दै आएको गण्डकी गोपाल गौशला क्षेत्रलाई तीर्थस्थल, पर्यटकीय क्षेत्र बनाउने र हिन्दुधर्मावलम्बीको ध्यान तान्ने योजना अनुसार पूर्वाधार निर्माणमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार गौशालालाई व्यवस्थित गर्ने, आश्रम स्थल बनाउने, मन्दिर निर्माण गर्ने लगायतका योजना रहेका छन् ।

गौशाला, वराह शिवालय र प्रशिद्ध धार्मिक स्थल भुमेथानलाई धार्मिक सर्किटका रुपमा जोड्ने योजना रहेको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो ।

२०७१ सालमा पञ्चकोटको परिकल्पना गर्दा ८ वटा गाईबाट सुरु भएकोमा अहिले ४६ वटा पुगेका छन् । गौशालाको विकासका लागि चारवर्ष अघि आयोजना गरिएको पहिलो गौ महोत्सवबाट सङ्कलित रकम, प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट यसअघि पनि केही संरचना बनेका छन् ।

मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा २०७१ सालमा यहाँका स्थानीयवासीको सक्रियतामा गौशालाको स्थापना गरिएको थियो । गाईको संरक्षण गर्ने र गाईको महत्त्व बुझाउन गौशाला स्थापना गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । गण्डकी गोपाल गौशाला प्रसिद्ध कालञ्जर क्षेत्रमा रहेको हुनाले यो क्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्ने योजना पालिका अध्यक्ष आचार्यले सुनाउनुभयो ।

गौशाला, वराह शिवालय, भुमेथान हुँदै जलजला क्षेत्रलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना अनुरुप अहिले भौतिक पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । गौशालामा व्यवस्थित भौतिक पूर्वाधार निर्माण गरी देश विदेशमा प्रचारप्रसार गरेर मुक्तिनाथ दर्शनका लागि आएका भारतीय हिन्दु धर्मावलम्बीलाई यहाँ आकर्षित  गर्नसकेमा महत्त्वपूर्ण तीर्थीथल बन्नसक्ने सम्भावना रहेको स्थानीयहरु बताउँछन् ।