• ४ असार २०८१, मङ्गलबार

मनसुन सुरु भएलगत्तै भदौसम्म मेलम्ची खानेपानी रोकिने

blog

काठमाडौं,  जेठ ३२ गते । मेलम्चीको खानेपानी मनसुन सक्रिय भएसँगै फेरि बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वर्षात् सुरु भएदेखि बाढीपहिरो जानसक्ने तथा लेदो बग्ने हुँदा टनेल बन्द गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “२०७८ को बाढीले हाम्रो हेडवक्र्स सबै बगायो । अब मुहानमा हाम्रो कुनै पनि संरचना छैन । वर्षामा लेदो बग्न थाल्छ त्यसैले टनेलको सुरक्षाको ध्यान दिएर बन्द गरिदिन्छौं ।” उहाँले असार सुरु भएपछि पानी पठाउन बन्द गरिने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार जेठ ३१ गतेदेखि मनसुन सक्रिय हुने भनेको छ, तर जबसम्म पहिरो र लेदो बग्दैन तबसम्म पानी पठाइने उहाँको भनाइ छ । 

अब मुहानमा हाम्रो कुनै पनि संरचना छैन । वर्षामा लेदो बग्न थाल्छ त्यसैले टनेलको सुरक्षाको ध्यान दिएर बन्द गरिदिन्छौं ।

उहाँले भन्नुभयो, “यो असार सुरु भएपछि पानी बन्द गर्ने सोचमा छौं । त्यही पनि मोटामोटी रुपमा असारपछि पनि केही समय पानी पथान्तरण गर्छौं । जबसम्म पहिरो र लेदो बग्न थाल्दैन तबसम्म पानी पठाइदिने योजनामा छौं ।”

उहाँले मनसुनको प्रतिकुलतालाई मध्यनजर गरेर आवश्यक स्थानमा काम गर्ने उपकरण स्काभेटर अहिले नै लगेर राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो कुरा मनसुन सकिएपछि पनि त्यहाँ जानलाई बाटो नै छैन । पछि पानी आयो भने लान सक्दैनौं भनेर हामीले स्काभेटर पारी नै लगेर तयारी अवस्थामा राखेका छौं ।”

मनसुन अवधिभर पानी पथान्तरण रोकिने र त्यस पश्चात् असोज १५ गतेबाट पानी पथान्तरण गर्ने योजना रहेको उहाँको भनाइ छ ।

संरचनालाई मर्मत गर्न सुझाव दिने तयारी छ : समिति

संसदको पूर्वाधार विकास समितिले पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेको छ । पूर्वाधार विकास समितिका सदस्य एवम् खानेपानी उपसमिति संयोजक उर्मिला माझीका अनुसार वैकल्पिक टनेलभन्दा पुरानै संरचनालाई मर्मत गरेर बाह्रै महिना मेलम्चीको पानी वितरण गर्न सम्भव हुन सक्ने विषयमा समितिले सुझाव दिने तयारी गरेको छ । 

उहाँले भन्नुभयो, “बाह्रै महिना उपत्यकाबासीलाई खानेपानी खुवाउन सक्ने सम्भावनाका विषयमा हामीले के भनेका छौं भने फेरि विस्तृतमा अध्ययन गर्ने, विकल्प नसोचिकन पुरानो संरचनालाई उत्खनन् तथा मर्मत गरेर त्यहीँबाट ल्याउँदा चाहिँ बरु बाह्रै महिना पानी ल्याउन सकिएला । अर्को विकल्पतिर जाँदा समय लाग्छ ।”

उहाँले अवलोकनका क्रममा हेडवक्र्स सार्ने भनिएको ठाउँ पनि हेरिएको भन्नुहुँदै नयाँ निर्माण कार्य विगतमाजस्तो सहज होला भन्न नसकिने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “नौसय मिटर सार्ने भनेको हेडवक्र्स, त्यो ठाउँ पनि हामीले हेरेर आयौं । अहिले मलाई के लाग्यो भने पब्लिकले पहिला जसरी सहज ढंगले दिएको थियो निर्माण कार्य अगाडि बढाउन अहिले सजिलै देलान्जस्तो मलाई लाग्या छैन ।

मेलम्ची आयोजनाका कारण यो सबै क्षति भएको हो भन्ने जनताको बुझाइ छ । हाम्रो समितिका सदस्यहरुको पनि बुझाइ विकल्पको रुपमा लिनुभन्दा पनि पुरानै संरचनालाई मर्मत गरेर बाह्रै महिना पानी खुवाउन सकिने सम्भावनाहरु छन्, त्यतातिर मन्त्रालय र सरकार जाँदा हुनेथियो भन्ने आशय छ ।”

पुरानै संरचनालाई मर्मत गरेर बाह्रै महिना पानी खुवाउन सकिने सम्भावनाहरु छन्, त्यतातिर मन्त्रालय र सरकार जाँदा हुनेथियो भन्ने आशय छ ।

मेलम्ची खानेपानी आयोजनाले समितिलाई नेपाल सरकार र बाहिरका विज्ञको सुझावका आधारमा समेत हेडवक्र्स सार्नुको विकल्प नरहेको बताएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “बाह्रै महिना उपत्यकाबासीलाई खानेपानी खुवाउन सकिन्छ भन्ने सम्भावना हामीले देखेका छौं । तर, मेलम्ची खानेपानी आयोजना, मन्त्रालय र नेपाल सरकारलाई मान्छेले के भनेका छन् भने बाहिरको विज्ञहरु पनि ल्याएर हेरिसक्यौं, नसारिकन विकल्प छैन भनेर भनेका छन् । हामीले चाहिँ विस्तारमा अध्ययन गरेर कम बजेटमा उत्खनन् गरेर त्यसलाई हेर्नुपर्छ भनेर सरकारलाई सुझाव दिने तयारी समितिको छ ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।