गाजा, मङ्सिर ८ गते । गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।
गाजाका अस्पतालका चिकित्सा स्रोतका अनुसार गाजा सहरको पूर्वमा अल-तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना घाइते भएका प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए)ले जनाएको छ ।
यसैबिच, खान युनूसको पूर्वमा रहेको बानी सुहेला सहरमा भएको इजरायली ड्रोन आक्रमणका घाइतेको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको जनाइएको छ । एजेन्सिले इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा आक्रमण जारी राखेको र गाजा सहरको पूर्वको अल-तुफाहमा विस्फोटक पदार्थले भरिएका गाडी विस्फोट गरिरहेको रिपोर्ट गरेको छ ।
गाजामा युद्ध अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गाजा पट्टीबाट कब्जा बलहरू फिर्ता तथा उत्तरी गाजामा विस्थापित मानिसको फिर्ती सुरु भएपछि हमास र इजरायली निकाय बिचको युद्धविराम सम्झौता अक्टोबर ११ देखि लागु भएको थियो । रासस/क्यूएनए